News

जग हालेको ९ बर्ष बित्यो, तर बनेन पुल

जग हालेको ९ बर्ष बित्यो, तर बनेन पुल

हेटौँडाः मकवानपुर र सिन्धुली जिल्ला जोड्ने पक्की पुल ९ बर्ष अघि निर्माण सुरु भएपनि हालसम्म निर्माण सम्पन्न नहुँदा राष्ट्रिय गौरवको मदन भण्डारी राजमार्ग निर्माण प्रभावित भएको छ ।

मदन भण्डारी राजमार्गमा निर्माण हुने ३४ वटा पुलमध्ये बामगती पुल सबैभन्दा ठूलो र बढी लागतको बलियो संरचना हो । २०६८ साल असार २९ गते स्वच्छन्द निर्माण सेवा प्रालिले सम्झौता गरी निर्माणको जिम्मा लिएको पुल २०७३ साल असार २८ गते सम्पन्न हुनुपर्ने थियो । तर, पुलका खम्बाहरु ठडिएको लामो समय बितिसक्दा पनि निर्माणले गति लिन सकेको छैन ।

निर्माण कम्पनीलालाई पुल चाँडो सम्पन्न गर्न पटक पटक ताकेता गरिएको भएपनि काम चित्तबुझ्दो ढंगले अघि नबढेको मदन भण्डारी राजमार्ग आयोजना हेटौँडाका प्रमुख राजेश पौडेलले बताउनुभयो । पुलको भौतिक प्रगति ६० प्रतिशत मात्र भएको आयोजना कार्यालय हेटौँडाले जनाएको छ । निर्माणाधीन पुलको लम्बाई ४०३ मिटर छ ।

तत्कालीन सरकारले सुरु गरेको धरान–चतरा–सिन्धुली–हेटौंडा सडक आयोजनालाई झापादेखि डढेल्धुरासम्म १ हजार २ सय ५० किलोमिटर विस्तार गरेर सरकारले मदन भण्डारी राजमार्ग सडक आयोजना नामाकरण गरी कार्यान्वयन गरिरहेको छ ।

पुल निर्माणका लागि सरकारले दुईपटक म्याद थप गरी मौका दिइसकेको छ । सार्वजनिक खरिद ऐनको आठौँ संशोधन कार्यान्वयन गर्दा निर्माण कम्पनीका लागि आगामी जेठ २२ गतेभित्र पुल निर्माण सम्पन्न गर्नुपर्ने बाध्यता छ ।

समयसीमाभित्र काम सम्पन्न गर्ने लिखित प्रतिबद्धता र कार्ययोजनासहित निर्माण कम्पनीले आयोजना कार्यालयमा लिखित प्रतिबद्धता गरेको आयोजनाले जनाएको छ । यद्यपि, प्रतिबद्धता अनुसार पर्याप्त जनशक्ति र उपकरणहरु प्रयोग नभएकाले समयसीमाभित्र काम सम्पन्न हुनेमा आयोजना कार्यालय सशंकित बनेको कार्यालय प्रमुख पौडेलले बताए । 

कार्यप्रगति कमजोर हुँदा आयोजनाले निर्माण कम्पनीसँग अग्रिम पेश्कीबापतको २ करोड ६१ लाख रुपियाँ निर्माण कम्पनीसँग आयोजना फिर्ता लिएको छ । ९ बर्षअघि ४२ करोड आठलाख रुपैयाँको लगात अनुमान गरिएको पुल निर्माण कम्पनीले करिब ४३ प्रतिशत कम मूल्यांकनमा २३ करोड ३७ लाख रुपैयाँमा स्वच्छन्द भैरव निर्माण सेवा प्रालिले ठेक्का सकारेको हो ।

मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुली र मकवानपुर जिल्लामा ११५ किलोटिर सडक खण्डमा बागमती पुलसहित ३४ वटा पुल रहेका छन् । सबै पुलको लम्बाई २ हजार १ सय १५ मिटर रहेको छ भने २१ वटा पुल निर्माण सम्पन्न भइरहेको आयोजनाले जानकारी दिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।

मकवानपुर सिन्धुली पक्की पुल

विशेष