चिसो बढेपछि प्रदेश १ का विद्यालय बन्द
झापाः चिसो अत्यधिक बढेपछि दमक नगरपालिकाभित्रका सबै विद्यालय तीन दिनका लागि बन्द भएका छन् । केही दिनयता बाक्लो हुस्सुसँगै शीतलहर चलिरहेकाले दैनिक पठनपाठनमा असहज भएको हुँदा सोमबारदेखि बुधबारसम्मका लागि नगरका सबै विद्यालय बिदा गरिएको हो । अन्य बिदामा मिलान गर्ने गरी बिदा दिने निर्णय गरिएको नगरपालिकाका शिक्षा उपसचिव दिनेश न्यौपानेले सूचना प्रकाशन गरी जानकारी गराइएको छ । त्यस सूचनासँगै नगरका तीन दर्जनभन्दा बढी विद्यालय बन्द भएको जनाइएको छ ।
यसअघि जिल्लाकै गौरीगञ्ज गाउँपालिकाले पनि जाडोका कारण दैनिक पठनपाठन सञ्चालन गर्न कष्टकर भएको भन्दै आगामी मंगलबारसम्मका लागि तीन दिन नै विद्यालय बिदा गर्ने सार्वजनिक गरिसकेको छ । यस्तै, सुनसरीको इनरुवा नगरपालिकाले पनि दुई दिनका लागि नगर क्षेत्रभित्र रहेका विद्यालयमा बिदा दिएको छ । नगरपालिकाले सूचना जारी गर्दै अत्यधिक चिसोका कारण नगर क्षेत्रका विद्यालयमा सोमबार र मंगलबार बिदा दिएको नगरपालिकाका प्रमुख राजन मेहताले जानकारी दिए ।
चिसोमा बालबालिकालाई आउनजान र पठनपाठन गर्नका लागि समस्या हुने भएकाले दुई दिनका लागि बिदा दिएको नगरपालिकाका प्रमुख मेहताले बताए । नगरपालिकाले दिने गरेको विद्यालय बिदाको विषयमा विभिन्न टिप्पणी भएपछि नगरपालिकाले स्थानीय सरोकारवालासँग छलफल र परामर्शपछि मात्र बिदा दिएको नगरपालिकाका प्रमुख मेहताले बताए ।
झापा बन्द विद्यालय बन्द