काठमाडौँमा ७२ जना चिनियाँ नागरिक पक्राउ
काठमाडौँ – काठमाडौँमा ७२ जना चीनियाँ नागरिक पक्राउ परेका छन्। नेपालमा अवैध रुपमा बसिरहेको सूचनाका आधारमा उनीहरु पक्राउ परेका हुन्। महानगरीय प्रहरी अपराध महाशाखा तथा महानगरीय प्रहरी परिसर काठमाडौँको संयुक्त टोलीले उनीहरुलाई आज दिउँसो गोंगबु तथा ठमेलबाट पक्राउ गरेको हो।
अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार उनीहरु विगत लामो समयदेखि काठमाडौंमा विभिन्न व्यवसाय गर्दै बसोबास गरिरहेको विशेष सूचनाको आधारमा उनीहरु पक्राउ परेका हुन्। थापाले भने, ‘ पक्राउ परेकाहरुको भिसा म्याद समाप्त भएकाले अनुसन्धानका लागि पक्राउ गरिएको हो। पक्राउ परेका ७२ जनालाई नै महानगरीय प्रहरी परिसरमा ल्याइएको छ।’
प्रहरीका अनुसार उनीहरु काठमाडौमा होटल, सूचना प्रविधि तथा कृषि र अन्य पेशामा संलग्न भएकाहरुलाई पक्राउ गरिएको हो। ‘केही समय अघिदेखि उनीहरु विभिन्न अपराधमा संलग्न भएको आरोप लाग्दै आएको छ, हामी त्यो विषयमा पनि अनुसन्धान गरिरहेका छौ’, महाशाखा प्रमुख थापाले भने।