भारतीय राजदूत पुरीलाई प्रधानमन्त्री ओलीले दिए करुवा उपहार
काठमाडौँ — नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिदाइ भेट गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर राजदूत पुरीले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटवार्ताका अवसरका प्रधानमन्त्री ओलीले राजदूत पुरीको कार्यकालमा नेपाल-भारत सम्बन्धमा नयाँ आयाम थपिएको भन्दै प्रशंसा गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
पछिल्लो समय नेपाल-भारत सीमा समस्या समाधानका लागि भारतले औपचारिक रुपमा पत्र पठाउनुमा राजदूत पुरीको भूमिका रहेको भन्दै प्रधानमन्त्रीले धन्यवाद दिएको थापाले जानकारी दिए । बिदाइ भेटका अवसरमा प्रधानमन्त्री ओलीले राजदूत पुरीलाई करुवा उपहार दिएका थिए ।
मार्च २५, २०१७ मा नेपालका लागि भारतीय राजदूतको जिम्मेवारी सम्हालेका पुरीको ३ वर्षे कार्यकाल सकिएको छ । उनी केही दिनपछि नै स्वदेश फर्कने कार्यक्रम रहेको छ । नयाँ दिल्लीले पुरीको ठाउँमा कसलाई पठाउने भन्नेबारेमा जानकारी औपचारिक जानकारी दिएको छैन । तर विकास स्वरुप, अखिलेश मिश्रालगायतको नाम भने चर्चामा रहेको छ ।