क्रिसमस अर्थात प्रेम दिवस अर्थात स्वतन्त्रता दिवस ( भिडियोसहित)
यशु ख्रिष्ट जन्मेको दिन डिसेम्बर २५ तारिखमा संसारभर धुमधामसंग ‘क्रिसमस ड’े मनाइदैछ । नेपालमा पनि केही वर्षयता सर्वसाधारणले बिभिन्न कार्यक्रमकासाथ आपसमा रमाइलो गरी यो दिवस मनाउँदै आएका छन् ।
राष्ट्रिय ख्रिष्टियन महासंघका अध्यक्ष सीबी गहतराजका अनुसार यो दिन निर्धक्कसँग रमाइलो गर्ने दिन हो ।
प्रभु यशु ख्रिष्टको जन्मोत्सवको अवसरमा आफूलाई जसरी आनन्द प्राप्त हुन्छ, त्यसैगरी मनाउने हो । क्रिसमस दिवसलाई प्रेम दिवस वा स्वतन्त्रता दिवस भनेर पनि बुझदा हुन्छ । आपसमा प्रेम र सद्भाव बाँड्दै स्वतन्त्रतापूर्वक चल्ने दिनकारुपमा क्रिसमस दिवसलाई लिन उनको आग्रह छ ।
क्रिसमस मनाउने कुनै खास विधि र तरिका छैन । जसरी मन आनन्दित हुन्छ त्यसै गर्ने हो । अहिले कतिपय विद्यालयमा सेन्टाक्रस टोपी लगाउन अनिवार्य गरिएको र कतिपय विद्यालयमा नलगाउन उर्दी गरेको सुनिएको छ । यी दुवै गलत हुन् । विद्यार्र्थी र तथा अभिभावकलाई कुनै जोड जबरजस्ती गर्नु हुँदैन । मन लागेकाले मनाउँछन्, मन नभएकाले मनाउँदैनन् । पर्व भनेको आफनो खुशीले मनाउने हो । यसमा कसैलाई बाध्य पार्नु हुँदैन ।
केही वर्षयता नेपालमा पनि एउटा साझा पर्वकारुपमा क्रिसमस धुमधामसँग मनाइदैछ । यो राम्रो कुरा हो । तर, सरकारले दिदै आएको विदा कटौती गरेकोमा भने गहतराज असन्तुष्ट छन् ।
उनी भन्छन्, ‘ २०६३ सालदेखि ०७२ सालसम्म सरकारले क्रिसमसको उपलक्ष्यमा विदा दिइसकेको हो । पछि कटौती भयो । फेरि ०७४ सालमा विदा थपियो । पछि ०७५ सालमा फेरि ख्रिष्टियन समुदायलाई मात्र विदा भनियो । विचमा पुनरावलोकन समिति बन्यो । सर्वोच्च अदालतले पनि खाइपाइ आएको बिदा खोस्न नहुने फैसला गर्यो । तर, कार्यान्वयन भएन । यसपटक पनि गृहमन्त्री लगायतलाई ज्ञापन पत्र बुझायौं, तर कसैले सुनेनन् । यसबाट हामी दुःखी छौं । ’
मुलुक धर्मनिरपेक्ष भएपनि व्यवहारमा लागु भएको छैन । धर्मनिरपेक्ष आफैमा परिभाषित शब्द हो यसको परिभाषा जरुरी छैन । तर, संविधानमा धर्मनिरपेक्षताको अनौठो परिभाषा गरेर दलहरुले जग हँसाएका छन् ।
यो देशलार्ई धर्मनिपेक्ष बनाउनमा प्रमुख भूमिका गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र सुवास नेम्वाङको छ । ०६२÷०६३ को जन आन्दोलनपछि सम्पूर्ण एजेण्डा तत्कालिन माओवादीका स्थापित हुने भएपछि कांग्रेस र एमालेको शाख जोगाउन सुवास नेम्वाङको सुझावमा गिरिजा प्रस्तावक र सुशील समर्थक बनेर मुलुक धर्मनिरपेक्ष भएको हो ।
अहिले धर्मनिरपेक्षता हटाउने कुरा सुनिदैछ । वास्तवमा भन्ने हो भने धर्मनिरपेक्षता र लोकतन्त्र भनेको नङ र मासु जस्तै हुन् । धर्मनिरपेक्षता खारेज भए यो देशमा लोकतन्त्र पनि समाप्त हुन्छ ।
जहाँसम्म भारत हिन्दु राष्ट्र उन्मुख भएको र त्यसको प्रभाव नेपालमा पर्ने कुरा छ यो पनि गलत हल्ला हो । भारतको राजनीतिक, सामाजिक तथा धार्मिक अवस्था हेर्दा भारत धर्मनिरपेक्ष नै रहन्छ । यदि धर्मनिरपेक्षता हटाउन खोजे भारत १४ टुक्रामा विभाजन हुन्छ । भारतमा अस्थिरता मच्चिन्छ ।