News

१९० जना सिट क्षमता भएको मिनी पानीजहाज नारायणी नदीमा

१९० जना सिट क्षमता भएको मिनी पानीजहाज नारायणी नदीमा

चितवन। चितवनमा बनिरहेको मिनी पानीजहाज (क्रुज सिप) को नारायणी नदीमा सफल परीक्षण गरिएको छ । नारायणी नदी किनारमा पर्ने काभ्रेघाटमा बनिरहेको ‘क्रुज सिप’लाई नदीमा चलाएर परीक्षण गरिएको हो ।

भरतपुर महानगरपालिका–१६ को ज्ञानेश्वर सामुदायिक वनको कभ्रेघाटमा लामो समय लगाएर बनाइएको ‘मिनी पानीजहाज’ को आइतबार दिउँसो गरिएको परीक्षण सफल भएको बताइएको छ ।

क्रुज सिप बनाइएको ठाउँबाट एक किलोमिटरसम्म परीक्षण गरिएको हो । सय फिट लम्बाइ र २५ फिट चौडाइको मिनी पानीजहाजको निर्माण गत वर्ष चैतबाट थालिएको थियो । निर्माण पूरा भइसक्दा यसको लागत १५ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

नर्बेजियन प्रविधि प्रयोग गरेर बनिरहेको क्रुज सिपमा भारतका प्राविधिकले काम गरिरहेका छन् । क्रुजमा दुईवटा इन्जिन छन् । क्रुजको तल्लो भागमा कुनै कारणले प्वाल परेर वा क्षति भएर पानी पसेमा सबै भागमा पानी नजानेगरी डिजाइन गरिएको छ ।

क्रुज सिपमा अहिले विदेशी १५ जना चालक दलका सदस्य र प्राविधिक रहे पनि पछि नेपाली प्राविधिकले नै यसलाई चलाउने योजना बनाइएको छ । क्रुजको पहिलो तलामा ९० र दोस्रो तलामा सय जना मानिस अट्ने क्षमता छ ।

दसैंअघि नै सञ्चालन गर्ने भनिए पनि डिजाइन परिवर्तन गरेर क्रुजमा भीआईपी कक्ष, सेल्फी लिने तथा चलचित्र सुटिङ गर्न मिल्ने युनिट थप गरिएको छ । यो समाचार आजको राजधानी दैनिकमा राधेश्याम खतिवडाले लेखेका छन।  

मिनी पानीजहाज

विशेष