News

महोत्तरीका ४ पदः ४ दलका पोल्टामा

महोत्तरीका ४ पदः ४ दलका पोल्टामा

महोत्तरीः जिल्लामा ४ वटा विभिन्न पद चारै दलका पोल्टामा परेका छन् । उपनिर्वाचनमा जिल्लाको एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस, राष्ट्रिय जनता पार्टी  नेपाल र समाजवादी पार्टी एक एक  पदमा निर्वाचित भएका छन् ।

पिपरा गाउँपालिकाका अध्यक्षमा (नेकपा) का विक्रम चौधरी तीन हजार २४९ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी समाजवादी पार्टीका रामजानकी यादवले तीन हजार ४१ मत ल्याएका थिए ।  

त्यस्तै बलवा नगरपालिका–२ मा भएको वडाध्यक्षको उपनिर्वाचनमा काँग्रेसका विपीन पञ्जीयार सुडी ४६१ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राजपाका वृजलाल साह सुडीले ३५२ मत ल्याएका थिए । यसैगरी बलवा ८ मा भएको वडाध्यक्षको  निर्वाचनमा समाजवादी पार्टीका रामबाबु महतो ६५९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका निर्मल यादवले ३४६ मत ल्याएका थिए ।  

त्यसैगरी मटिहानी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्षमा राजपाका रामबाबु नायक ३७५ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका जाकिर अन्सारीले ३५५ मत ल्याएका थिए ।  

वि.सं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा पिपरा गाउँपालिका अध्यक्षमा राजपा  विजयी भएको थियो भने यसपालि नेकपाले बाजी मारेको छ । अन्य तीन स्थानमा पुनः पहिले जितेका दल नै दोहोरिएका छन् । बलवा–२ मा यसअघि पनि काँग्रेसले नै बाजी मारेको थियो । त्यस्तै वडा नं ८ मा पनि यसअघि समाजवादी पार्टी तथा  मटिहानी–६ मा  यसअघि राजपाले नै जितेका थिए । 

महोत्तरी उपनिर्वाचन

विशेष