News

कसरी पक्राउ परे चिनियाँ अपराधी ?

कसरी पक्राउ परे चिनियाँ अपराधी ?

बेइजिङस्थित चिनिया सुरक्षा संयन्त्रले नै ‘हाम्रा नागरिक तिम्रो देशमा बसेर आफ्नै देश विरुद्ध आर्थिक अपराध गरिरहेका छन्’ भन्दै फाइल पल्टाएर देखाएपछि प्राप्त प्रारम्भिक सूचना विश्लेषणमा जुटिरहेको गृह प्रशासनलाई बल्ल सजिलो भयो । एक हजार जना सम्भावित अपराधीको विवरण टिपाइएकोमा एक हप्ताको खोजबिनपश्चात अस्ति सोमबार १ सय २२ चिनिया नागरिक राजधानीका विभिन्न ठाउँबाट पक्राउ परेको प्रसंग हो यो ?
अपराधी समात्दा पनि मानवअधिकारका नाममा विदेशीको कान ठाडो हुने देश, यसर्थ सुराकी पाएर पनि हात बाँधी बस्नुपर्ने अवस्था थियो तर सानो र निर्धन देशकै बैंकिङ प्रणालीमा तिनले असल छिमेकी हुनुको सदाशयतालाई कमजोरी ठान्दै हमला गर्न थालेपछि कतिञ्जेल चुपचाप बस्न सकिन्थ्यो ! त्यसमाथि भर्खरै प्राप्त थप जानकारी अझ भयावह थियो । 

गार्मेन्टस जस्तो ठाउँ काम दिनरात चलिरहने । खाने, बस्ने, सुत्नेदेखि शौचालयसम्मको सुविधा भित्रै । काठमाडौं बसी बसी चीनका पुरुष मुर्गा भए महिलाले र महिला भए पुरुषले यताबाट जालमा पार्ने धन्दा चलिरहने । तर, महिनौंदेखि यस्तो अपराध हुँदासम्म सुरक्षासम्बद्ध मजबुत सूचना प्रणालीको अभावमा धन्दा झन्झन् मौलाउँदै थियो । नेपालको सहज अध्यागमन व्यवस्था र फितलो सुरक्षा प्रणालीको फाइदा उठाउँदै  यी चिनियाँले उतै बस्ने नागरिकलाई यहाँबाट फकाएर, तर्साएर वा प्रलोभनमा पारेर ठूलो मात्रामा आर्थिक अपचलन गरिरहेका थिए । 

एउटा क्वार्टरमा १२ देखि १५ जनासम्म बस्ने र चीनमा ककसका पति पत्नीबीच खट्पट छ, त्यहाँ निशाना लगाएर पतिसंग भए महिलाले, पत्नीसंग भए पुरुषले वी च्याटदेखि विभिन्न जुवाजन्य अनलाइनमार्फत आर्थिक लगानी गर्न प्रेरित गर्ने खेल हो यो । लगानी मात्रै गराए त समस्या थिएन, शुरुमा भनिएकै विषयमा रकम हाल्न लगाउने पछि थप रकम माग्ने क्रममा सिरीखुरी सोतर पारिदिने क्रम बढेको थियो । पीडितहरुले चिनियाँ सुरक्षा निकायमा आफ्नो पीडा पोखेपछि अनुसन्धान शुरु भयो । पत्ता लाग्यो, त्यस्तो काम गर्न विभिन्न देशबाट चिनिया नागरिक काठमाडौं पुगेका छन् । 

चीनले डेढ साताअघि गुप्तचर निर्देशकसहित ६ जनाको एउटा टोली काठमाडौं पठायो । यो टोली सबभन्दा पहिला अध्यागमन विभागमा कुरा बुझ्न पुग्यो । साइबर क्राइमदेखि विभिन्न अपराधमा चीनको फुजियान प्रान्तका बासिन्दा बढी संलग्न भएको उनीहरुको दावी थियो । फुजियान भनेको चीनविरोधी भूमि ताइवानको वारिपट्टि पर्छ । त्यहाँका विभिन्न अपराधीहरु श्रीलंका, फिलिपिन्स, कम्बोडिया, मलेशिया र भियतनाममा छरिएर रहेको छन् । 

नेपालमा बसेर नेपालकै सुरक्षामा त उनीहरुले त्यति चुनौती दिएका छैनन तर चीन लक्षित कुनै कुनै अपराधमा संलग्न भएको चिनिया गुप्तचरको टोलीको निष्कर्ष थियो । सजिलो पनि कस्तो भने नेपाल आउन चिनिया नागरिकलाई भिसा शुल्क लाग्दैन, सीधै काठमाडौं एयरर्पोटमा टेक्नासाथ सित्तैमा १ सय ५० दिन बस्न पाइन्छ । पहिलो लटमा ३ सय अपराधी लिएर जाने उताका गुप्तचरको भनाइ थियो । अध्यागमनका महानिर्देशक ईश्वर पौडेल सामु फाइल पल्टाएर  देखाइएको हिसावअनुसार सबै गर्दा हजार जति आफ्ना नागरिक नेपालमा सल्बलाएको उनीहरुको अनुमान छ । 

उनीहरुले यिनलाई सीधै उठाएर चीन लैजान कम्तिमा तीनवटा चार्टर फ्लाईट चाहिने बताएका थिए । त्यस्ता व्यक्तिलाई लान सुपुर्दगी सन्धि नभएका कारण समस्या छ । तर, चिनियाहरुको पनि राय छ, राष्ट्रपति सि चिनफिङको भ्रमणका बेला भएको सम्झौताअनुसार उच्चस्तरीय समन्वय, अपराध र अपराधीबारे सूचना आदानप्रदान र एकापसमा सहयोग  गर्ने भन्ने विषयमा टेकेर लैजान सकिन्छ वा प्रहरीले अवैधानिक आप्रवासी तथा संगठित अपराधको कसुरमा संलग्न भनी अध्यागमनमा पेश गरे फिर्ता पठाउने व्यवस्था छ ।

सो टोलीले दूतावासमार्फत सीधै आइजीपी सर्वेन्द्र खनालसंग कुरा गर्यो । खनालले सूचना पाउनासाथ केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) र अपराध महाशाखालाई एक साताअघि २४ घण्टा म्याद दिएर तथ्य पहिल्याउने जिम्मेवारी दिए । सूचना चुहावटको जटिल समस्यामा रहेको प्रहरीबाट यो काम समयमै सम्पन्न हुनेमा चिनियाँ गुप्तचर विश्वस्त थिएनन् । तर, आइतबार साँझ आइजीपी खनालले नक्सालस्थित आफ्नो सरकारी निवासमा सीआइवी, अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरका प्रमुखहरुलाई बोलाएर भोलिपल्ट दिउँसो ३ बजेभित्र आफूलाई रिजल्ट चाहिएको बताएपछि आइतबार रातभरमा यी तीनै टोलीले विभिन्न अखडा पहिचान गरेको हो । 

सोमबार विहान बालाजु, नयाँबसपार्क, तिलिंगेटार र महाराजगञ्जका प्रहरी युनिटलाई दिउँसो २ बजेसम्म काम सिध्याउने गरी स्टयाण्डबाई राखिएको थियो । तर अनुमानित समयअगावै अर्थात १ बजेभित्रै पहिचान भएका अखडाबाट शंकास्पदहरु नियन्त्रणमा आए । यो अपरेशनका सन्दर्भमा दूतावास र प्रहरी हेडक्वार्टरबीच निरन्तर समन्वय थियो । मानिसहरु पक्राउ परेको सूचना हेडक्वार्टरले दिनासाथ दूतावासले बेइजिङमा खबर पठायो । 

र, उताबाट खबर आयो, ती व्यक्तिलाई अवैधानिक आप्रवासीको रुपमा सम्बन्धित देश फिर्ता पठाउने कानुनअनुसार कागज बनाउन नेपाल सरकारलाई अनुरोध गर्ने । यसअनुसार सोमबारबाटै प्रक्रिया शुरु भएको छ । केही दिनका लागि संगठित अपराध मुद्दामा म्याद थपेर १ सय २२ चिनियाँमाथि कारवाही अगाडि बढ्ने र बेइजिङबाट उनीहरुलाई लिन आउने चार्टर जहाज अवतरण हुनासाथ अध्यागमन कानुन लगाएर पठाउने योजना छ । अथवा, चीनले चाह्यो भने उनीहरुको राहदानी रद्द गर्न र फेरि नेपाल प्रवेशमा रोक लगाउन सक्ने व्यवस्था पनि छ । जनआस्था साप्ताहिक ।  
 

चिनियाँ गुप्तचर

विशेष