समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि सरकारको गुम्यो दुई तिहाइ!
काठमाडाैँ – सरकारबाट बाहिरिएसँगै समाजवादी पार्टी नेपालले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधवार(आज) बसेको दलको केन्द्रीय कार्यकारीणी समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै प्रतिपक्षमा बस्ने निर्णय गरेको हो ।
समाजवादी पार्टी नेपालका महासचिव एवं संगठन विभाग प्रमुख गंगा श्रेष्ठले कार्यकारीणी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी दिए ।
‘सरकारबाट बाहिरिएपछि समर्थन दिइरहेन कुरा भएन,’महासचिव श्रेष्ठले भने,’समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै संसदमा प्रतिपक्षीको बेञ्चमा बस्ने निर्णय गरेको छ ।’ समाजवादीले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै ओली सरकार बहुमतको सरकार मात्र बनेको छ । उसको दुई तिहाइ हटेको छ ।
अहिले प्रतिनिधिसभाको कुल सदस्य संख्या २७५ छ । यसमध्ये दुई तिहाई बहुमतका लागि १८३ मत चाहिन्छ ।
समाजवादी पार्टीले समर्थन फिर्ता नलिँदासम्म ओली सरकारको पक्षमा १९४ सांसद छन् । समाजवादीका १७ जनाले समर्थन फिर्ता लिए भने सरकारको पक्षमा १७७ सांसद रहने छन्, जुन दुई तिहाईभन्दा थोरै मात्र कम हो ।