'क्रिसमस डे' मा सार्वजनिक बिदा
मकवानपुर – मकवानपुरमा एक गाउँपालिकाले इसाइ धर्मावलम्बीहरुको चाडपर्व क्रिसमसको अवसरमा सार्वजनिक विदा दिएको छ। बहुसंख्यक इसाई धर्मालम्बी रहेको भन्दै राक्सिराङ्ग गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो। आदिवासी तामाङ्ग र अल्पसंख्यक चेपाङ्ग बाहुल्य राक्सिराङ्ग गाउँपालिकाले क्रिसमस डेका दिन बुधबार सार्वजनिक बिदा दिएको हो।
गाउँकार्यपालिकाको सोमबार बसेको बैठकले बुधबार गाउँपालिकाभित्रका सम्पुर्ण सरकारी कार्यालय एवं शिक्षण संस्थाहरु बिदा रहने निर्णय गरेको अध्यक्ष राजकुमार मल्लले बताए। उनका अनुसार गतबर्ष पनि गाउँपालिकाले क्रिसमस पर्वको सार्वजनिक बिदा दिएको थियो।
नौ वडा रहेको गाउँपालिकाको उपाध्यक्ष र पाँच वडा अध्यक्षलगायत ख्रिष्चियन रहेका छन्। राक्सिराङ्ग गाउँपालिकाको कुल जनसंख्या ३० हजार सात सय ६९ रहेकोमा करिब १८ प्रतिशत इसाई धर्मालम्बी रहेको अनुमान छ। जसमध्ये ५१ दशमलव आठ प्रतिशत तामाङ्ग र ३७ प्रतिशत चेपाङ्ग रहेको गाउँपालिकाले जनाएको छ।