मोडलिङकाे बहनामा नेपाली युवती बेच्न खोज्ने ७ पक्राउ
मोरङ- मोडलिङकाे बहनामा नेपाली युवती बेच्न खोज्ने ७ जनालाई प्रहरीले पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा जिल्ला नवलपरासी कावासोती-१ बस्ने २६ वर्षीय कृष्ण तामाङ, जिल्ला सप्तरी राजविराज-१४ बस्ने ४० वर्षीय उमेश शाह छन्। यसैगरी, दाङको घोराही १० की २४ वर्षीय दिलकुमारी बुढामगर, सप्तरी जिल्ला सप्तकोशी ११ का ३५ वर्षीय उमेश माझी, मोरङ जिल्ला विराटनगर ८ का दिलिप पोद्दारसमेत पक्राउ परेका छन्।
त्यस्तै धादिङ खनियाबास-२ घर हाल काठमाडौं बस्दै आएका २३ वर्षीय प्रेम तामाङ र जिल्ला सुनसरी गढी नपा-१ का ३७ वर्षीय रञ्जीत कुमार चौधरीसमेत एकसाथ पक्राउ परेको मोरङ प्रहरीले जानकारी दिएको छ।
मोरङ प्रहरीले भारतमा लगेर युवती बेच्ने योजना बनाउँदै गरेको अवस्थामा उनीहरूलाई मोरङको बुढीगंगा गाउँपालिका-१ बाट पक्राउ गरेको हो। पक्राउ परेकाहरूबाट प्रहरीले नगद १ लाख ९ हजार ५ सय रूपैयाँ समेत बरामद गरेको छ। यसका साथै सामसुङ मोबाइल ७ थान, विभिन्न बैंकका ९ लाख १ हजार रुपैयाँको चेक चाँदीको जन्तर २ थान समेत बरामद भएको छ। यसैगरी कृष्ण तामाङका नाममा रहेका विभिन्न बैंकले जारी गरेका ७ थान एटिएम तथा तान्त्रिक पूजाका सामग्री समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ।
सो गिरोहले मोडलिङका लागि विभिन्न शर्त राखेको र ती युवतीको शारीरिक परीक्षणसमेत गरेको थियो। मोडलिङका लागि ती युवतीलाई प्रेममाया तामाङले प्रस्ताव गरेकी थिइन्। उनले कम्तीमा ६ फिट उचाइ चाहिने महिनावारी भए नभएको परीक्षण गर्न पर्ने सर्त समेत राखेकी थिइन्। यी सबै शर्त पूरा गरेकी ती युवतीलाई विराटनगर लगी तान्त्रिक पूजा गराउने र त्यसका लागि भारत जानुपर्ने बताएका थिए। भारत जान पनि राजी भएकी थिइन्। तर यस्तो योजना बनाउँदै गर्दा प्रहरीले मोरङको बुढीगंगा १ बाट पक्राउ गरेको थियो। पीडित युवतीको भने परिचय खुलाइएको छैन।
पक्राउ परेका ७ जनालाई जिल्ला अदालत मोरङबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेकामध्ये उमेश माझी जिल्ला प्रहरी कार्यालयबाट यसअघि पनि अपहरण तथा शरीर बन्धक तथा हातहतियार मुद्दामा जिल्ला अदालतबाट धरौटीमा रिहा भएका व्यक्ति भएको प्रहरीले जानकारी दिएको छ।