News

सभामुख चयनमा सकस: शिर्ष चर्चामा नेम्वाङ र सापकोटा

सभामुख चयनमा सकस: शिर्ष चर्चामा नेम्वाङ र सापकोटा

काठमाडौ । प्रतिनिधिसभाको सभामुख कसलाई बनाउने भन्ने विषयमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अझै निर्णाय लिन सकेको छैन । शुक्रबारको बैठकपूर्व नै सभामुखको उम्मेदवार टुंगो लगाउने नेकपाको प्रयास बुधबारसम्म पनि टुंगोमा पुग्न सकेको छैन ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार मुद्दामा मुछिएदेखि सुरु भएको नयाँ सभामुखको बहस हिउँदे अधिवेशन सुरु हुँदा पनि निष्कर्षमा पुग्न सकेको छैन । तर, यसबीचमा भावी सभामुखका लागि केही नाम चर्चामा रहे । 

सभामुख चयनका केही विकल्पमा सत्तारूढ नेकपाको नेतृत्व तहमा छलफल चलेको छ । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पटकपटक भएका भेटवार्तामा सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा सहमति जुट्न सकेको छैन ।

नेकपाभित्र सभामुखको दाबी प्रस्तुत गरिरहेका नेताहरूले आआफ्नो सम्भावना बढी भएको निकटस्थ नेतालाई बताउँदै आएका छन् । पार्टी अध्यक्षद्वयले भने सबै नेतालाई चित्त बझाउने गरी निर्णय लिने प्रयास गरिरहेका छन् । बुधबारसम्मको राजनीतिक भेटघाट र घटनाक्रमले सभामुखमा सुभाषचन्द्र नेम्वाङ र अग्नि सापकोटाको दाबीलाई शीर्षस्थानमा राखेर बहस हुन थालेको छ । 

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सभामुखमा सरकारलाई सहयोग गर्नेगरी नेम्वाङलाई सभामुख बनाउनुपर्ने तर्क राख्दै आएका छन् भने अर्का अध्यक्ष दाहालले पूर्वमाओवादीको भागमा सभामुख परेको स्मरण गराउँदै स्थायी कमिटी सदस्य सापकोटालाई सभामुख बनाउन लबिङ गरेका छन् ।   यो समाचार आजको राजधानी दैनिकमा सबिन शर्माले लेखेका छन ।  

सभामुख चयन

विशेष