News

शुक्रबार राति काठमाडौंको तापक्रम माइनस २ डिग्री पुग्ने अनुमान!

शुक्रबार राति काठमाडौंको तापक्रम माइनस २ डिग्री पुग्ने अनुमान!

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले काठमाडौंमा यो बर्षको सबैभन्दा धेरै जाडोको मापन बिहीबार रातिको गरेको छ । बिहीबार राति काठमाडौंको तापक्रम दुई डिग्री सेल्सियसको मापन गरेको छ भने बुधबार राति शून्य दशमलब ९ डिग्री सेल्सियसको तापक्रमको मापन गरेको छ । यो काठमाडौँ उपत्यकाको यस वर्ष मापन गरिएको सबैभन्दा कम तापक्रम हो । 

शुक्रबार राति काठमाडौंको तापक्रम माइनस दुई डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ । बिहीबार काठमाडौंको अधिकतम तापक्रम १८ डिग्री सेल्सियस रहेको छ ।

सबैभन्दा धेरै जाडो रहेको जुम्लामा आज न्यूनतम माइनस ७ डिग्री सेल्सियस पुगेको छ । साथै आज जुम्लामा अधिकतम तापक्रम १२ डिग्री शेल्सियस रहेको छ । पश्चिमी वायुको प्रभाव पुन दोहोरियो भने यस वर्ष काठमाडौमा केही दिन तापक्रम माइनसमा पनि पुग्ने अनुमान छ । 

वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार मुलुकभरको तापक्रम जनवरी १५ सम्म तापक्रम घट्नेछ, त्यसपछि क्रमिकरूपमा तापक्रम बढेर जानेछ । उनले वादल लाग्ने अवस्था पश्चिमी वायुको प्रभावका कारणले न्यूनतम तापक्रममा भने फेरवदल हुन सक्ने बताइन् । 

उच्च पहाडी तथा हिमाली क्षेत्रहरुमा मात्रै नभएर तराइका जिल्लाहरुमा समेत चिसो ह्वात्तै बढेको छ । पश्चिम तराईका कैलाली, कन्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपुरमा बिहानैदेखि बाक्लो हुस्सु, कुहिरो, देखिएको छ भने मध्य तराईका चितवन, पर्सा, बारा, रुपन्देही, सर्लाही, धनुषा, परासीसँगै पूर्व तराईका महोत्तरी, सिरहा, सप्तरी, सुनसरी, मोरङ, झापामा समेत शितलहर देखिएको छ । बिहीबार दिउँसोबाट भने कुहिरो हटेर मौसम सफा बन्दै गएको छ ।

मौसम पूर्वानुमान महाशाखा काठमाडौं तापक्रम

विशेष