डायलाइसिस गरेर फर्किए प्रधानमन्त्री
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट बालुवाटार निवास फर्केका छन्। स्वस्थ्यमा समस्या आएपछि नियमित डायलाइसिस गरी उनी निवास फर्केका हुन्।
उनी नियमित डायलाइसिसका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज गएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। ‘उहाँ नियमित डायलाइसिसका लागि अस्पताल जानुभएको हो। फर्किसक्नु भयो,’ उनले भने। १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री केही समयदेखि नियमित डायलाइसिसमा छन्।
मिर्गौलाको कार्यक्षमतामा ह्रास आएकाले प्रत्यारोपण अथवा डायलाइसिस विकल्प बनेको छ। तर प्रधानमन्त्रीले केही समयअघि एपेण्डिसाइटिसको पनि शल्यक्रिया गराएकाले तत्काल प्रत्यारोपण गर्न मिल्दैन। सुरुमा ग्राण्डी अस्पतालमा डायलाइसिस गराउँदै आएको भए पनि पछिल्लो समय मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरमा डायलाइसिस गरिँदै आएको छ।