News

नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या २ करोड

नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या २ करोड

काठमाडौंः नेपालमा विभिन्न सेवाप्रदायकमार्फत दिइएको इन्टरनेट सेवा प्रयोगकर्ताको संख्या दुई करोड पुगेको छ। नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले गत साता सार्वजनिक गरेको एक तथ्यांकअनुसार हालसम्म नेपालमा सिमकार्ड तथा टेलिफोन प्रयोगकर्ता चार करोड २२ लाख ८६ हजार ९ सय छ ।

मोबाइल सिमकार्ड प्रयोगकर्तामध्ये करिब ७५ प्रतिशतमात्रै सक्रिय रहेको अनुमान प्राधिकरणको छ । यस अनुसार हाल ४ करोड १४ लाख प्रयोगकर्ता मोबाइलका छन् । यसमा सक्रिय प्रयोगकर्ता तीन करोड मात्रै रहेको र बाँकी करिब एक करोड सिमकार्ड प्रयोगबिहीन अर्थात निष्कृय रहेको उल्लेख छ । प्राधिकरणका अनुसार सक्रिय प्रायोगकर्तामध्ये मोबाइल इन्टरनेट सञ्चालन हुने भएकाले हाल नेपालमा मोबाइल डेटा प्रयोगकर्ताको हिस्सा उल्लेख्य छ । मोबाइल तथा ताररहित इन्टरनेट प्रयोग गर्ने उपभोक्ताको कुल बजार ७० प्रतिशत पुगेको छ ।

केन्द्रीय तथ्यांक विभागको हालको अनुमानित दुई करोड ९५ लाख १४ हजार सात सयको जनसंख्यालाई आधार बनाएर प्राधिकरणले तयार पारेको असोजसम्म तथ्यांकअनुसार इन्टरनेटमा सबैभन्दा ठूलो हिस्सा मोबाइलको छ । करिब ५५ प्रतिशत इन्टरनेट प्रयोग मोबाइलबाटै हुने गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

तथ्यांक अनुसार १४.८८ प्रतिशतले फिक्स्ड ब्रोडब्यान्ड (तारसहित) को इन्टरनेट करिब शून्य दशमलव ८८ प्रतिशत र ५४.७४ प्रतिशतले मोबाइल ब्रोडब्यान्ड इन्टरनेट प्रयोग गर्ने गरेका छन् । डेटा प्रयोग गर्नेमा टेलिकमका इन्टरनेट प्रयोगकर्ता एक करोड एक लाख २४ हजार सात सय छन् । टेलिकमको इन्टरनेटमा तारसहितको एडीएसएल प्रयोगकर्ता १० लाख, केबल÷एफटीटीएच ५० हजार चार सय र इन्टरनेट लिजलाइनको संख्या करिब एक हजार छ ।

यस्तै टेलिकमका ताररहित इन्टरनेट सेवा दिइएको वाईम्याक्स ८९ हजार दुई सय छन् । मोबाइल इन्टनरेट प्रयोगकर्तामा थ्रीजी प्रयोग गर्ने ७९ लाख ९८ हजार पाँच सय, फोरजी प्रयोगकर्ता ८ लाख ३८ हजार एक सय र ईभिडियो प्रयोगकर्ताको संख्या एक लाख ३६ हजार पाँच सय जना रहेको पनि प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

हाल नेपालमा इन्टरनेट सेवाप्रदायक कम्पनीमार्फत दिइएको इन्टरनेट ३३ लाख ७९ हजार एक सय छ । यसमा हाल प्राधिकरणबाट इन्टरनेट सेवाप्रदायकको अनुमति पाएका ११५ कम्पनीसहित छन् । यी कम्पनीमा सक्रिय सेवा दिने इन्टरनेट कम्पनी भने दुई दर्जन मात्रै छन् ।

निजी क्षेत्रको मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले दिएको सेवाबाट मोबाइल डेटा चलाउने उपभोक्ताको संख्या ६९ लाख ४६ हजार चार सय छ । यसमा एनसेलको सिमकार्ड प्रयोग गरेर इन्टरनेट सेवा लिने सेवाग्राहीमा थ्रीजीको तुलनामा फोरजीका ग्राहक धेरै रहेको उल्लेख छ । एनसेलले हाल ३४ लाख ९० हजार फोरजी प्रयोगकर्ता पुर्‍याइसकेको छ । एनसेलले फोरजी सातै प्रदेशमा दिएको र यसले टेलिकमको तुलनामा छिटो फोरजी सेवा विस्तार गरेकाले यसका प्रयोगकर्ता उल्लेख्य रूपमा बढेको देखिएको छ ।

हाल टेलिकमको फोरजी प्रयोगकर्ता भने जम्मा आठ लाख मात्रै छन् । टेलिकमले पनि देशैभर फोरजी सेवा पुर्‍याइसकेको भए पनि यसका सेवाग्राहीको वृद्धिद्धर भने सुस्त छ ।

प्राधिकरणको तथ्यांकअनुसार हाल मोबाइलबाट प्रदान गरिएको इन्टरनेट बजार हिस्सा ७८ प्रतिशत छ । यसमा तारसहितको बजार हिस्सा भने २१ प्रतिशत छ भने ताररहित सेवाग्राहीको संख्या भने जम्मा एक प्रतिशत मात्रै रहेको प्राधिरकणको तथ्यांकमा उल्लेख छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार सूचना प्रविधि ९आईसीटी०को उपयोगसँगै डेटा प्रयोगकर्ता बढ्नु सामान्य हो । पछिल्लो समय नपढेका व्यक्तिले पनि मोबाइल डाटामार्फत दैनिकी सहज गर्न थालिसकेका छन् । मोबाइल फोनको भरमा विश्वको जुनसुकै कुनामा पुग्ने, भ्वाइस तथा डेटा सेवाको प्रयोग गर्ने प्रवृत्ति बढेको छ । 

परिवर्तित समयलाई आत्मसाथ गर्दै जानु, मोबाइलबाट इन्टरनेट चलाउन समान्य हुँदै जाँदा दैनिकी पनि सहज भइसकेको छ। अहिले सेवाप्रदायक कम्पनीले पनि भ्याइसको तुलनामा डेटाबाट गर्ने आम्दानीको वृद्धि राम्रो हुँदै गएको पनि प्राधिकरणको बुझाइ छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरण इन्टरनेट सेवा

विशेष