News

सुक्खा पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

सुक्खा पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

मुस्ताङः शुक्रबार बिहानदेखि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइठेभिरमा सुक्खा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा अवरुद्ध भएको हो ।

बिहीबार राति खसेको पहिरो पन्छाउन बेनी–जोमसोम–कोरला सडक आयोजनाको ठेकेदार कम्पनीका स्काभेटर परिचालन गरिएको आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए । देशका विभिन्न ठाउँबाट बेनी हुँदै मुस्ताङ जान हिँडेका र मुस्ताङ हुँदै बेनीतर्फ छुटेका सवारीसाधन बिच बाटोमै रोकिएका छन् ।

सडक अवरुद्ध हुँदा स्थानीयवासी, मुुक्तिनाथ जाने र फर्कने तीर्थयात्री तथा पर्यटक प्रभावित भएका छन् । स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडकको गुइठेभिर खण्ड जोखिमयुक्त मानिन्छ । यो ठाउँमा पटकपटक पहिरो खस्ने गरेको छ ।

पहिरोका कारण आन्तरिक तथा बाह्य पर्यटक लगायत दैनिक रुपमा आउजाउ गर्ने सीधा सवारी समेत सबै अलपत्र पर्दा समस्या पैदा भएको सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए ।  

सुख्खा पहिरो गएको स्थान आसपास करिब २० मिटर बाटो भासिएको छ । कडा चट्टान भएकोले बम बिस्फोट गर्नुपर्छ। शेरचनका अनुसार बिहानदेखि नै बाटो खुलाउन पहल भएको छ । तर कडा चट्टान भएकोले दुई दिन भन्दा बढी लाग्न सक्ने सम्भावना छ । दुई पाङ्ग्रे सवारीसाधनलाई पारिपट्टिको बाटोबाट आउजाउ गराइएको छ भने चार पाङ्ग्रे सवारी पुरै अवरुद्ध भएको शेरचनले बताए ।  

मुस्ताङ बेनी–जोमसोम सडक सुक्खा पहिरो

विशेष