News

घुस लिएको आरोपमा सशस्त्रका इन्स्पेक्टर र लेखा अधिकृतसहित ४ जना पक्राउ

घुस लिएको आरोपमा सशस्त्रका इन्स्पेक्टर र लेखा अधिकृतसहित ४ जना पक्राउ

काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा ललितपुर जिल्लाका महालक्ष्मी नगरपालिकाका प्रमुख लेखा अधिकृतसहित ४ जनालाई नियन्त्रणमा लिएको छ । आयोगका अनुसार चारै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

टंगालबाट खटिएको टोलीले महालक्ष्मी नगरपालिकाका लेखा अधिकृत शिवकुमार घिमिरे र लेखापाल कुवेर केसीलाई ३० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । दुबै जनाले सूचना प्रकाशन गरेकोमा भुक्तानीका लागि सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस वापत् लिएको प्रवक्ता कोइरालाले बताए । 

आयोगले घुस लिएको आरोपमा सशस्त्र प्रहरीका प्रहरी निरीक्षक र प्रहरी सहायक हवल्दारलाई नियन्त्रणमा लिएको छ । रुपन्देहीस्थित विष्णुपुरा सशस्त्र प्रहरी बेस क्याम्पमा कार्यरत हवल्दार विरेन्द्रप्रसाद चौधरीले सेवाग्राहीबाट छ हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेको आयोगले जनाएको छ ।

उक्त प्रकरणमै आयोगले बेसक्याम्पका प्रहरी निरीक्षक तेजबहादुर जोरालाई नियन्त्रणमा लिएको प्रवक्ता कोइरालाले बताए । घरायसी मालसामान ओसारपसारमा सहजीकरण गर्न चौधरीले घुस लिएको आयोगको दाबी छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

विशेष