News

बलात्कार अभियाेग लागेका सिद्धबाबाको अदालती बयान सुरु

बलात्कार अभियाेग लागेका सिद्धबाबाको अदालती बयान सुरु

इनर्वा–  सिद्धबाबा भनिने कृष्णदास गिरीको अदालती बयान सुरु भएको छ । जबरजस्ती करणी (बलात्कार) अभियोग लागेका गिरीको अदालती बयान सुरु भएको हाे। जिल्ला सरकारी वकिल कार्यालयले बिहीबार गिरीविरुद्ध जिल्ला अदालत सुनसरीमा अभियोग पत्र दायर गरेको थियो ।

बिहीबार अभियोग पत्र दायर गरिएपछि प्रहरीले गिरीलाई शुक्रबार बिहान अदालतमा उपस्थित गराएको थियो । अहिले जिल्ला अदालत सुनसरीका न्यायाधीश धर्मराज पौडेलको इजलाशमा गिरीको बयान भइरहेको छ ।

जिल्ला अदालत सुनसरीका प्रवक्ता गोपाल गिरीले शुक्रबार नै सिद्धबाबा भनिने कृष्णदासको बयान सकिने संभावना रहेको बताए । बयान सकिए पछि शुक्रबार नै थुनछेक बहस हुने छ । जिल्ला सरकारी वकिल कार्यालय सुनसरीका सहायक जिल्ला न्यायाधीवक्ता अनिल रेग्मीका अनुसार सिद्धबाबा भनिने गिरीविरुद्ध १८ वर्षभन्दा बढी उमेर भएकी महिलामाथि बलात्कार गरेको अभियोग लगाइएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले गिरीविरुद्ध फौजदारी अपराध संहिताको दफा २१९ को उपदफा (३) को देहाय (ङ) बमोजिम अधिकत्तम १० वर्ष कैद सजाय मागदाबी गरेको छ । अपराध संहिताको दफा २१९ को उपदफा (३) को देहाय (ङ) मा १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिलालाई जबरजस्ती करणी गरेको प्रमाणित भएमा ७ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

गिरीविरुद्ध उनकै एक महिला अनुयायीले बलात्कार आरोप लगाएकी थिइन् । पीडित महिलाले प्रहरीमा उजुरी दिएपछि गिरी भने आफू बिरामी भएको भन्दै विराटनगरस्थित एउटा अस्पतालमा भर्ना भएका थिए । प्रहरीले गत मंसिर १८ गते गिरीलाई अस्पतालबाटै पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेपछि पनि गिरी भने अस्पतालमै बस्दै आएका थिए । चिकित्सकहरुले उनलाई मुटुसम्बन्धी रोगको समस्या रहेको बताउँदै आएका छन् । तर, पीडित पक्षले भने गिरीले घटनालाई प्रभावित पार्न अस्पतालमा बसेर विभिन्न प्रकारका चलखेल गरिरहेको आरोप लगाएका छन् ।

विशेष