नेहरुले महेन्द्रका दूत गिरीको सातो टिपे....
न्यूर्योकमा संयुक्त राष्ट्रसंघको पहिलो स्थायी प्रतिनिधि भएर गएँ । म, श्रीमती र ८ वर्षको छोरा संगै थियौं । त्योबेला युएनको नेपाल मिसनमा मेरोबाहेक गोविन्दराज पाण्डेको परिवार पनि थियो । हंगेरीलाई रुसले दबाएको समय थियो त्यो । पुगेकै दिन इमरजेन्सी कन्फरेन्स शुरु भइसकेको थियो । स्वेज नहरमाथि इनभेड गरियो । सेकेन्ड कन्फरेन्स भयो फ्रान्सको खिलाफमा । भारतीय प्रतिनिधिले हामीलाई होटल खोजिदिएका थिए । हंगेरीलाई परेको जस्तो समस्या हाम्रो जस्तो सानो देशलाई पर्न सक्छ । त्यसैले त्यसको पक्षमा भोट गर्छु भनें ।
कृष्ण मेननले बोलाएर ‘तँ जस्ता मान्छेले नै वल्र्ड वार गराउँछन’ भन्छ । यस्तै अल्लारे काम गरे वल्र्ड वार हुन्छ भनेर बम्किन्छ । भोटको बेला कृष्ण मेननले नाउँ काट्छ । बर्मा र सिलोनका प्रतिनिधि पनि त्यसै गर्छन् । युएनमा भोटिङका क्रममा पालो काटेर पछि सार्न पाइन्छ । रातको १२ बजिसकेको थियो । मैले अमेरिकाको पक्षमा भोट गर्छु भनें । भोलिपल्ट अमेरिकी अखबारहरुमा नेपालले बर्मा र सिलोनलाई लिड गर्यो भनेर छापियो । यताबाट टंकप्रसादको चिट्ठी गयो– ‘तपाईं हाम्रो जस्तो असंलग्न देशको राजदूत भएर हामीले अंगीकार गरेको असंलग्न परराष्ट्र नीतिको खिलाफमा कसरी लाग्नुभयो ? यसको कारण के हो ? स्पष्ट पार्नु ।’ भनेर सात पानाको चिट्ठी गयो ।
चेकोस्लाभियाको चुरिक भन्ने प्रोफेसर थियो । ठूलो विद्वान आफ्नो पालामा सारा युरोपमा नाम चलेको । इन्डियनको तर्फबाट अशोक सेन थियो । पाकिस्तानको तर्फबाट जुल्फिकर अलि भुट्टोको विरोधी । भुट्टो, तविबी र मबीच डुएट खेल्ने कुरो पनि आएन । कतिपय कारणले मेरो अशोक सेनसंगको सम्बन्ध राम्रो भएन । यो भूपरिवेष्ठित राष्ट्रहरुको स्वीटजरल्याण्ड मिटिङ हुँदाको कुरा हो ।
बीपी प्रधानमन्त्री भएपछि पहिलोपटक युएन आउनु भयो । उहाँलाई लिन एयरर्पोट गएँ । महेन्द्रले ऋषिलाई दिनु भनेर आफ्नो एउटा तस्वीर कागजमा बेरेर पठाएका रहेछन् । बीपीको साथमा कुमारमणि दीक्षित सेक्रेटरी भएर आएका थिए । संसदको प्रमुख प्रतिपक्षी दल गोर्खा परिषद्का नेता भरतशम्शेरलाई पनि डिप्लोम्याटिक पासर्पोट दिइकन बीपीले अमेरिका ल्याउनु भएको थियो ।
बीपीलाई सोभियत रुसको तत्कालीन नेता ख्रुश्चेभ कति पनि मन परेन । ‘कस्तो मान्छे रहेछ हँ शाहजी ?’ भन्नुभयो । भारतको कृष्ण मेननले युएन महासचिव ड्याग ह्यामरशोल्डलाई ‘तँ जेनरल जस्तो भइस, मन परेको मान्छे राखिस ।’ भन्यो । कंगोको नेता प्याट्रिस लुमुम्बालाई रिकगनाइज गर्नुपर्छ भन्थ्यो । मेननले उसलाई मान्यता दिन जोड गरेको केही समयपछि नै लुमुम्बा मारियो । वेष्टर्न पावरले लुमुम्बालाई मार्यो भनेर मेननले खुबै हल्ला गर्यो । लुमुम्बाको निहुँ बनाएर ख्रुश्चेभले युएनमा ट्रोएका चाहिन्छ, न्युट्रल र रसियन पक्षका गरी तीनवटा सेक्रेटरी जनरलको व्यवस्था गर्नुपर्छ भन्ने कुरा उठायो । ट्रोएका भनेको तीनघोडे बग्गी हो । उसले उपनिवेशका रुपमा रहेका सबै मुलुकलाई स्वतन्त्र बनाउनुपर्छ भन्ने प्रस्ताव युएन बैठकमा राख्यो । बीपी आउनुअघि नै महासचिव ह्यामरशोल्डको पक्षमा मैले डिफेन्ड गरेको थिएँ । जे गरेको थियो ठीक गरेको छ भन्ने मेरो जिकिर थियो ।
प्रधानमन्त्रीका रुपमा बीपीले युएन महाधिवेशनमा दिने अभिभाषण मैले लेख्नुपर्नेमा यदुनाथ खनाललाई लेख्न लगाएँ । मैले नै लेख्दा प्रधानमन्त्री र मेरो भाषण एउटै हुन्छ भन्ने डरले त्यसो गरेको थिएँ । कृष्ण मेनन, बीपी र मसंगै गएर नेहरुलाई भेट्यौं । नेहरुसंग भेट भएपछि कृष्ण मेननले तिमी र म जाउँ, यी दुईलाई कुरा गर्न दिउँ भने । मैले बुझिहालें । बीपीको स्पीच नेहरुले हेरे । ख्रुश्चेभसंग पनि बीपी र मेरो भेट भयो । बसेर कुरा गर्न लागेको एक मिनेट भएको छैन के भन्छ भने यो तपाईंको राजदूत (मलाई देखाएर बीपीसंग कुरा गर्दै) अमेरिका धेरै दिन बसेको छ । अमेरिकन र युरोपियनहरुको लहैलहैमा लाग्ने भएछ ।
मैले हाँसेर भने– ‘तपाईंले त्यस्तो कुरा गर्दा मेरो नोकरी जान्छ ।’ मलाई लौ यी तीन प्रश्नको जवाफ दे भन्छ । ट्रोएकाबारे के भन्छौ ? मैले भने– ‘युएनको एजुकेटिभ चिफ एउटै हुनुपर्छ । ट्रोएकाले चल्दैन । यो त युएनलाई बन्द गर्ने काम हो । ट्रोएका बनाउने हो भने त्यसका निम्ति चार्टरमाथि नै संशोधन गर्नुपर्छ । चार्टर एमेन्ड गर्न तपाईंहरु मान्नुहुन्छ ?’ उ भन्छ, असल कुरालाई लिएर चार्टर नै एमेण्ड गदौ पनि हुन्छ । दोस्रो प्रश्न आयो, ह्यामरशोल्डले ज्यादती गर्यो कि गरेन ? मैले उत्तर दिएँ, अहँ गरेन । जो भएपनि आफ्नो कर्तव्य निर्वाह गर्ने हो । उसले सेक्युरिटी काउन्सिलले भनेको कुरा ट्याली आउट गर्ने न हो । उ डिक्टेटर होइन ।
तेस्रो प्रश्नको जवाफमा ‘कुनै पनि हेड अफ स्टेटको नाममा रिजोल्युसन हुँदैन । कोलोनियम पावरको विरुद्धमा म पनि छु । तपाईंको कुरालाई विचार गरिने छ ।’ मैले भने । बीपीले ख्रुश्चेभलाई भन्नुभयो– ‘शाहजीका कुरालाई म इन्डोर्स गर्छु ।’ रिसाएर खु्रश्चेभले बीपीलाई भन्यो, तिम्रो राजासंग विताएका दिनहरुको याद आयो । ब्ल्याक सीको किनारमा सोची भन्ने ठाउँ छ । त्यहाँको होलिडे रिसोर्टमा महेन्द्रसंग घुमफिर गर्दा उसले महेन्द्रलाई डुंगा उपहार दिएको थियो । महेन्द्रसंग राम्रो दोस्ती छ भन्ने भान उसले बीपीलाई पार्न खोज्यो । कुरा सकिइसकेपछि तलसम्म पुर्याउन आयो । मलाई अमेरिकनहरुले प्रिजनर बनाए भनेर चिच्याउँछ । रुसीहरु अमेरिकामा अनुमति लिएर मात्र घुम्न पाउँथे ।
राजाको अमेरिका भिजिट थियो । बीपी त्यहाँ पनि जानुपर्ने । राजाको स्टेट भिजिट मैले नै मिलाइदिएको हुँ । त्यहाँको दुवै हाउसमा राजाले ‘गभर्नमेन्ट अफ् द पिपुल, फर द पिपुल, वाई द पिपुल स्याल नट डाइ’ भनेर सम्बोधन गरे । तर स्वदेश फर्कने वित्तिक्कै बीपीको गभर्नमेन्ट विरुद्ध कू गरे । हाउसमा राजाले बोल्दा मैले इन्टरप्रेटरको काम गरें । मसंगै डेपुटी प्राइममिनिष्टर सुवर्णजी हुनुहुन्छ । महेन्द्रले तात्कालिन राष्ट्रपति आइजनहावरसंग कुरा गर्न खोजिबक्स्यो । मैले मिलाइदिएँ । महेन्द्रले अमेरिकी राष्ट्रपतिसंग त्रिभुवन विश्वविद्यालयलाई केही मद्दत र सरकारी खर्चको हिसाव जाँच वा लेखापरीक्षण गर्न जान्ने एकजना विज्ञलाई पठाइदिन अनुरोध गर्नुभएछ । तर राजा महेन्द्रले अमेरिकी राष्ट्रपतिसंग गरेको कुराका सम्बन्धमा हामीलाई केही बताएनन् ।
राजा फर्कने दिन विश्वबन्धले के भन्यो भने, ‘तपाईंलाई राजाले बोलाए आउनुहुन्छ कि हुन्न ? मैले भने– बीपीले छोडेपछि म नेता हुन्छु । मैले जे ठीक देख्छु , त्यही गरौंला । तँ को होस् यो कुरा सोध्ने भनेर हप्काएँ । विश्बन्धुले कुमारमणिलाई भनेछ– सान्दाइ, त म संग रिसाउनुहुन्छ । भरतशम्शेर र शाहजीलाई पनि लिएर हिँड्नुहुन्न । यो कुरा शाहजी र सान्दाइलाई भन्दिनुहोला राजाले छिट्टै शक्ति आफ्नो हातमा लिँदैछन् । उहाँले सुनुहुन्न भने केही छैन । मैले पछि बीपीसंग सोधेको थिएँ । उहाँले भन्नुभयो– मलाई विश्वबन्धुले भनेको थियो तर त्यसको कुरालाई मैले कुनै महत्व दिइनँ ।
विश्वबन्धु विश्वेश्वरका पिताजी कृष्णप्रसादले राखिदिएको नाउँ । उ कोइराला निवास विराटनगरमै हुर्केको । मैले बीपीलाई भनें– ‘केशरशम्शेरले जाँड खाँदाखेरि आफूले पालेको कुकुरले टोक्छ भन्थे त्यसैले विश्वबन्धुलाई हेला नगर्नुस । त्यसकी दिदीलाई मैले स्वास्नी राखेको, के गर्नसक्छ भन्नुहुन्थ्यो बीपी । आखिर टोकिहाल्यो । टेकओभरपछि मलाई परराष्ट्र र शिक्षा दिइबक्स्योस् भनेर महेन्द्रलाई भनें तर अर्थमन्त्री पो बनाए । आफ्नो घरको त हिसाव राख्न नसक्नेले देशको अर्थतन्त्र कसरी चलाउँथे । हुन पनि अर्थमन्त्री हुँदा पैसा खान पाइन्थ्यो तर मेरो नियत नै होइन त्यो । सक्दिन सरकार भनेर कति कुरा गरें मान्नुहुन्न । उहाँलाई अर्थमन्त्रालय अरुलाई दिएर वैदेशिक सहायता रोकिदेलान भन्ने पीर । इन्डियाले रोक्ने भइसक्यो, त्यो थाहा छ उहाँलाई । अमेरिकाबाट फर्किएको प्रजातन्त्रवादी भनेर उहाँले त्यो कदम चाल्नुभएको हो ।
महेन्द्र गजब गजब गर्नुहुन्थ्यो । नेहरुसंग कुरा गर्न भनेर तुलसी गिरी पठाउनु भयो । उसले त्यहाँ नेहरुसंग नेपालको त्यतिबेलाको प्रणालीलाई पार्टीलेस डेमोक्रेसी भनेछ । त्यसका त्यस्ता कुरा सुनेपछि लौ जा तँ तेरा कुरा सुनें । मलाई अर्ती दिइस भनेर नेहरुले सातो टिपेछन् । यत्रो मुख लगाएर यहाँ आएर यसो यसो गरे भन्यो । फेरि महेन्द्र आफू गए दिल्ली । आफू जाँदा पनि तुलसी गिरीलाई लिएर जाने । दिल्लीमा नेहरुले यसको मुख पनि नहेर्ने । शेरबहादुर जर्नेल राजाले के गरिबक्सेको यो भन्छन् । यदुनाथ खनाल र पदमबहादुर जर्नेल कुरा गर्ने नेहरुसंग महेन्द्रको रोहवरमा । आफू बसेर यिनीहरुलाई भन भन भनेर कुरा गर्ने ।
असंलग्न राष्ट्रहरुको शिखर सम्मेलन भयो । म अर्थमन्त्री थिएँ । म युएनमा पनि बसेको मान्छेलाई नलगेर तुलसी गिरीलाई लिएर महेन्द्र त्यस शिखर सम्मेलनमा गए । डेलिगेसनमा नेहरु महेन्द्रतिर हेर्दै हेर्दैनन । यो कुरा मलाई भारतीयहरुले भने । फर्केर यहाँ आएपछि भने, ऋषि, अर्थमन्त्री भएर तिमीले राम्रो काम गर्यौ । तिमीलाई म परराष्ट्रमन्त्री दिन्छु । तिमीले भारतसंग सम्बन्ध सुधार । विश्वबन्धु र तुलसी गिरी भारतविरुद्ध कराइरहेका थिए ।
म दिल्ली गएँ नेहरुलाई भेटन । पहिलोचोटि मुक्तिसेनाले प्रयोग गरेको राइफलको बुलेट पनि देखाएँ । नत्र त्यसको बारेमा पब्लिसिटी नै भएको थिएन । तपाईंले हामीलाई नदिएको बुलेट मुक्तिसेनाले प्रयोग गरिरहेछ । कहाँबाट पाए यिनीहरुले भनेको, पण्डित कराउँछन– ‘अहिलेको युगमा हतियार जहाँ पनि किन्न पाइन्छ ।’ मैले भने, किन्न त पाइँदो हो तर यो कसरी ? त्यसैले मैले चिट्ठी लिएर आएको । ‘ओपन लेटर’ थियो । ईश्वरीमानले लेख्या हो कि जस्तो लाग्छ । को हो यो मलाई ओपन चिठी लेख्ने ? शत्रुलाई मात्र ओपन लेटर लेखिन्छ भनेर नेहरु च्यात्न खोज्छ । मैले भने– राजाले पार्लियामेन्ट बोलाएर बीपीलाई पावर दिने भन्ने कुरा छैन । अहिले तुरुन्तै छाड्ने कुरा छैन । पछि छोडनु होला । मलाई चिट्ठीको जवाफ लैजान दिनुस् ।’
महेन्द्रलाई आएर सबै कुरा भनें । उनले भने– त्यसो भए तिमीलाई झिक्नुपर्यो । त्यतिबेला म युुएनका तात्कालीन सेक्रेटरी जनरल ड्याग ह्यामरशोल्डको हवाई दुर्घटनामा मृत्यु भएपछि गठन गरिएको छानविन आयोगको अध्यक्ष बनेको थिएँ । त्यसैले झिक्न परेपनि रिपोर्ट बुझाएपछि झिक्नुस भने राजालाई । ‘केनेडी र अयुवसंग् हात जोडने अरु के गर्ने नेहरुलाई भन्देऊ मलाई ‘डोन्ट लेट हिम पुस मि टु द वाल’ अलिकति किङसंग एटिट्युड मडरेड गर भनेर भन्ने अरु के भन्ने’ मप्रति नेहरुको एटिट्युड मडरेट गरिदेउ भन्ने अनुरोध भएको चिठ्ठी लेखाएर लगी केनेडीलाई पनि दिए ।
महेन्द्रले मलाई युएनको सेक्रेटरी जनरल हुन दिएनन भन्ने हल्ला चल्यो । ख्रुश्चेभको भोट पक्षमा नभइकन त्यो हुन पाइँदैन । ख्रुश्चेभले मलाई भोट दिने भन्ने प्रश्नै उठ्दैन । यो हल्ला भएको कारण के भने कृष्ण मेननलाई बर्माको उ थान्त भन्ने कति पनि मन नपर्ने । अनि उनीहरुले उ थान्तको विपक्षमा वातावरण बनाउन सकिन्छ कि भनेर अखबारमा ऋषिकेश हुन्छ, आर्थरलाल हुन्छ भनेर हल्ला गरेका हुन । आर्थरले महेन्द्रले छेउका स्टेटसंग दुश्मनी मोल्न नहुने बोल्यो भनेर लेखेका छन् । ठीकै पनि हो । चीनपट्टि मुख हेर्ने भए महेन्द्र ।
महेन्द्रले आफू समान हुन्छ वा आफूभन्दा ठूलो व्यक्तित्व हुन्छ भनेर मलाई युएनको जनरल सेक्रेटरी हुन दिएनन भन्ने अफवाह झूटो हो । तर मानिसले अहिलेसम्म त्यही झूट विश्वास गरिरहेका छन् । नेपालमा भारदार दुई प्रकारका छन् । एउटा भारतको मुख हेर्ने अर्को चीनको मुख हेर्ने । हामी आफ्नै स्वाभिमानमा रहनुपर्छ । दुइवटा हात्ती लडे पनि मैदानको घाँस माडिन्छ । मिलेर संगै सुते पनि घाँस माडिन्छ । हामी सधैं अप्ठ्यारो अवस्थामा बस्नु परेको छ ।
कुटनीतिज्ञ ऋषिकेश शाहको पुरुषार्थ र प्रारब्ध पुस्तकबाट साभार ।
बीपी कृष्ण मेनन नेहरु महेन्द्र