मध्यरातमा रानी पाेखरी सरुवा भएका डीआईजीलाई कसले देखायाे चक्कु ?
काठमाडौं । शुक्रबार राति ९ बजे महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल (डीआइजी)सहितको टोली सडक अनुगमनमा थियो ।
टोलीमा काठमाडौं महानगरपालिका, मानवसेवा आश्रम, प्रहरी, पत्रकार र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरु सहभागी थिए ।
काठमाडौंको कमलादीस्थित गणेश मन्दिरनजिक सडकछेउमा बन्दोबस्तीको ओढ्ने–ओछ्याउनेसहित एक दम्पती सुत्ने तरखरमा थिए । चिसोका कारण खोकी लागेकाले श्रीमती औषधि खाँदै त श्रीमान् मदिरामा लठ्ठ भेटिए ।
प्रहरी र अभियानकर्मीले उनीहरुलाई फकाउँदै सडकमा नबस्न अनुरोध गरे । महिला आश्रममा जान मानिनन् । उनले मोबाइल उठाउँदै कुनै एक व्यक्तिलाई फोन गरेजस्तो गरेर आफूलाई लैजान लागेको कुरा सुनाइन् ।
नमाने जसरी पनि लैजाने प्रहरीले अडान कसे ।
महिलाले भनिन्–‘भोलि आफ्नै घर जान्छौं । आज छाडी दिनोस् ।’ यसरी उनले अनुरोध गरेको यो तेस्रोपटक थियो ।
सहजरुपमा उठ्न नमानेपछि प्रहरी र अभियानकर्मीले उठाउने प्रयास गर्दा–गर्दै उनले सिरानबाट चक्कु निकालिन् ।
‘म पनि इन्सपेक्टरको छोरी हुँ । ल आइज त मेरो नजिक, सबैलाई सिध्याउँछु । पुलिसलाई नि हान्छु’–उनी चक्कु ताक्दै घुम्न थालिन् ।
अश्लील शब्दसमेत प्रयोग गरिन् । सामुन्ने रहेका नायब महानिरीक्षक पोखरेल पनि छक्क परे । एकछिन त सबै अक्क न बक्क भए ।
गाडीमा बसिसकेका श्रीमान्लाई फिर्ता ल्याइदिने शर्त राखेपछि उनले चक्कु थन्क्याइन् । अभियानकर्मीले चक्कु खोसेपछि बल्ल उनी आश्रम जान तयार भइन् ।
घर धादिङको नौबिसे बताउने दम्पती मन्दिरमा मागेर बस्ने गरेको निकै लामो समय भइसक्यो ।
स्थानीयकाअनुसार यो दम्पती दिउँसोमा विभिन्न अश्लील शब्द भनेर मानिसलाई थर्काउने र हल्लाखल्ला गर्नेमध्येका प्रमुख हुन् ।
शान्ति–सुरक्षामै चुनौती हुनेगरी बेला–बेलामा यस्ता हर्कत सडकमा हुने गरेका छन् ।
टेकुस्थित एक घरको सिँढीमा सुतिरहेका एक जमातलाई पनि राति नै उद्धार गरियो ।
स्थानीयकाअनुसार उनीहरु भट्टीमा बसेर मदिरा पिउने अनि हरेक दिन चोकमा झै–झगडा गर्दै आएका थिए । यहाँ महिला पुरुष एउटै गुँड बनाएर सुतिरहेका भेटिए ।
सडकमा यसरी हतियार देखाएर तर्साउन खोज्ने, कुटपिट गर्न खोज्ने, टोली देखेपछि भाग्नेहरु धेरै छन् ।
काठमाडौंको सडकमा असहाय र बेसहाराहरु न्यून रहेपनि यस्ता व्यक्तिहरु अत्यधिक रहेको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी बताउँछन् ।
अधिकांश पेशेवर मगन्ते, मदिरा सेवन गरेर पल्टिने र दिनभर मजदुरी गरेर राति सडकमा बस्नेहरु छन् ।
यस्ता व्यक्तिले भने कुनै न कुनै हर्कत देखाउने गरेका अर्का अभियानकर्मी सुमन बर्तौलाको अनुभव छ ।
डीआइजी पोखरेलले यस्ता गतिविधि रोक्न सुरु भएको अभियान सराहनीय रहेकाले कुन ठाउँमा कसरी प्रस्तुत हुनुपर्छ, त्यसका लागि प्रहरी तयार रहेको बताए ।
कुनै मानवको लागि मानिस आफ्नो जीवन समर्पण गर्छ भन्ने कुरा महत्वपूर्ण भएको उल्लेख गर्दै प्रहरी नायब महानिरीक्षक पोखरेलले आश्रमका अभियानकर्मीलाई संकेत गर्दै भने–‘मानव हुनुको अर्थ तपाइँहरुको सेवामा देख्छु म । एउटा मानव कति पीडा भोगिरहेको छ, उसलाई सार्थक जीवन दिन आफ्नो कस्ट भुलेर अभियान चलाउनुभएको छ ।’
उनले मगन्तेको व्यवस्थापन र असहायको आँसु पुछ्ने पुनित कार्यको जति प्रशंसा गरेपनि नपुग्ने बताए ।
शुक्रबार राति काठमाडौंका सडकबाट मात्रै ३८ जनाको उद्वार गरियो । सबै मदिरा पिएका र पेशेवर मगन्ते मात्रै थिए ।
कालीमाटीको सडकमा विगतमा बोरा ओछ्याएर लस्करै ४३ जना सुतेको भेटिएका थिए । उक्त अभियानका कारण शुक्रबारको रात त्यो सडक खाली थियो ।
विगतमा यत्रतत्र मानिस सुतिरहेका देखिने सडकक्षेत्र विस्तारै खाली देखिन थालेको अभियानमा सहभागी महानगरीय प्रहरी परिसर काठमडौंका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताए ।
-रासस