भीम रावलप्रति कड्किदै प्रधानमन्त्री ओलीले भने–'नयाँ नयाँ कवि जन्मिए'
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई पछाडि पार्न असाधारण प्रयास भइरहेको बताएका छन्। शनिबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट पत्रकारको प्रेस संगठनले गरेको ‘सञ्चारकर्मीसँग प्रधानमन्त्री’ कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन्।
त्यस्तै उनले नेतृत्वलाई विरोध गर्न पार्टीमा नयाँ नयाँ कवि जन्मिएको भन्दै स्थायी समिति सदस्य भीम रावलप्रति व्यङ्य समेत गरेका छन् । प्रधानमन्त्री ओलीले पार्टीको सफलतामा बोल्न नसक्ने नेताहरु विरोधमा मात्रै बोलेको आरोप लगाए ।
‘पार्टीको नेता भएर पार्टीकै सफलतामा बोल्न नसक्ने, विरोधमा मात्रै बोल्दा कसैको प्रेस्टिज माथि उठ्दैन,’ ओलीले रावलमाथि व्यङ्य गर्दै भने, ‘कुण्ठामात्रै बोकेर पार्टीमा बस्दा कसैको भलो हुँदैन। पार्टीको सरकारले राम्रो काम गर्दा बोल्न नसक्ने?’
रावलले केही दिनअघि सम्पन्न नेकपा स्थायी समितिमा नेकपा र राजपाबीच भएको राष्ट्रियसभामा तालमेलसम्बन्धी सहमतिको व्यङ्य गर्दै ‘धुँवाले छोपिँदै दियो’ शीर्षकमा कविता वाचन गरेका थिए। बैठकमा सहभागी नभएका ओलीले कविताको जवाफ शनिबारको कार्यक्रममा दिएका हुन्।
प्रदेश २ मा २०७४ मा भएको राष्ट्रियसभा निर्वाचनमा नेकपाले एक स्थानमा पनि नजितेको, अहिले राजपासँग सहमति भएपछि दुई सिट जित्ने पक्का भएको बताए। ‘राम्रो काम गर्दा विरोधीले त विरोध गर्थे नै, आफ्नैले पनि विरोध गरे,’ ओलीले भने, ‘कसैलाई कोही मान्छे मन पर्दैन होला। आनीबानी व्यवहारका कमजोरी देखे भन्नुस्। सही नीतिले देश सञ्चालन गरेका छौं। फेरि विरोध किन?’