News

तनहुँको बन्दीपुरमा एक वर्षभित्र केबुलकार

तनहुँको बन्दीपुरमा एक वर्षभित्र केबुलकार

दमौलीः तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माण शुरु भएको केबुलकार एक वर्षभित्र सञ्चालन हुने गरी निर्माणको कामले तीव्रता पाएको छ ।

बन्दीपुर केबुलकार परियोजनाअन्तर्गत अहिले बटम स्टेशनको काम धमाधम चलिरहेको छ । परियोजनाको साझेदार कम्पनी आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्शन लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले एक वर्षभित्र केबुलकार सञ्चालन गर्ने गरी कामलाई तीव्रता दिइएको जानकारी दिए । 

बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा निर्माण भइरहेको उक्त भवनको लागत रु १८ करोड ५५ लाख रहेको छ । भवन एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सो लिमिटेड, पञ्चासे केबुलकार एन्ड टुर्स लिमिटेड, टुरिजम इन्भेष्टमेन्ट फन्ड, बन्दीपुर गाउँपालिकाको साझेदारीमा निर्माण हुन लागेको बन्दीपुर पर्यटन पूर्वाधारयुक्त परियोजनाको कूल लागत रु एक अर्ब ५६ करोड रहेको छ ।

केबुलकारको माथिल्लो स्टेशनमा दश तल्लाको होटलसहितको भवन निर्माण गरिनेछ । रु ८२ करोडको लागतमा निर्माण हुने उक्त भवनमा आधुनिक भ्यू टावर, बेनक्युट हल र ८० कोठाका स्तरीय होटल निर्माण गरिने शर्माले जानकारी दिए । 

अध्यक्ष शर्माका अनुसार रेष्ट्रो जोन, शपिङ मल र केबुलकारको ड्राइभ स्टेशन, टिकट काउन्टर र उत्तर दक्षिण प्यासेजको निर्माण गर्ने गरी काम अगाडि बढाइएको छ । पाँच सय क्षमताको सभाहलसमेत उक्त भवनमा निर्माण गरिनेछ ।

प्रारम्भमा रु ५६ करोडको लागतमा केबुलकार सम्पन्न गर्ने योजना रहेकामा कम्पनीले केबुलकार प्रविधिलाई आधुनिक ‘मोनोकेबुल डिटाचेबल प्यासेन्जर सिस्टम’ जडान गर्ने र सुरक्षाको पक्षलाई महत्व दिएर सुरक्षा उपकरणहरु जडान गर्ने योजना थप गरेको थियो । साहसिक पर्यटनको मज्जा दिन बन्दीपुरदेखि छिम्केश्वरी फेदीसम्म माउन्टेन जङ्गल सफारीको सेवा शुरु गर्ने गरी कम्पनीले लगानी गर्ने जनाएको छ ।

कम्पनीले केबुलकारको पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने जग्गा प्रयोग गरेबापत जग्गाधनीलाई रु ४५ लाख बराबरको शेयर प्रदान गरिसकेको छ । केबुलकार कम्पनीमा २२५ जनाभन्दा बढी स्थानीयवासीले शेयर हालिसकेका छन् ।
 

तनहुँ बन्दीपुर गाउँपालिका केबुलकार

विशेष