ग्रहदशा फाल्न चिडियाखानामा!
ललितपुरः धर्मप्रति आस्था राख्नेहरू ग्रहदशा फाल्न चिडियाखाना पुग्ने गर्छन् भन्ने सुन्दा पत्यार नलाग्न सक्ला । भगवान गणेशको रूप मानिँदै आएको हात्तीको दर्शन गरी आहारा खुवाउँदा ग्रहदशा कट्छ भनेर हरेक मङ्गलबार जावलाखेल सदर चिडियाखानामा मानिस पुग्ने गरेका छन् ।
चिडियाखानाका वरिष्ठ क्युरेटर रचना शाहले भनिन्, ‘ग्रहदशा फालिने विश्वासले हरेक मङ्गलबार भगवान गणेशप्रति आस्था राख्नेहरू आउने गरेका छन् ।’ बाघलाई आहारा खुवाउँदा पनि ग्रह हट्छ भन्ने विश्वासले हरेक आइतबार उत्तिकै मानिस चिडियाखाना पुग्ने गरेका छन् । हात्तीलाई खाना खुवाउन प्रतिव्यक्ति १५० रुपैयाँ र बाघलाई खाना खुवाउन दुई सय रुपैयाँ लिने गरिएको छ । बाहिरबाट ल्याइएका खाना स्वास्थ्यका दृष्टिकोणले उपयुक्त नहुने हुँदा हात्ती वा बाघलाई खुवाइने आहाराको व्यवस्था चिडियाखानाले नै गरिदिने गरेको छ ।
‘हात्ती वा बाघलाई आहारा खुवाउन आउनेहरूका लागि अलग बिल काट्ने गरेका छौँ’ उनले भने, ‘हात्ती वा बाघलाई उपलब्ध गराउने आहाराको भागबाटै ती व्यक्तिहरूलाई उपलब्ध गराउँछौँ । उनीहरूले खोरमा नै लगेर खुवाउन सक्छन् ।’ यसरी आहारा दिनका लागि मङ्गलबार वा आइतबार अपराह्न १२ देखि २ बजेसम्मको समय उपलब्ध गराइने गरिएको छ ।
विद्यालयका विद्यार्थीलाई चिडियाखानाका साथी (फ्रेन्डस् अफ जु) को सदस्यता प्रदान गरिँदै आएको छ । त्यस्तो सदस्यता लिएका इच्छुक विद्यार्थीले चिडियाखानाका पशुपक्षीलाई खुवाइने आहारा आफैले काटेर तयार गर्न पाउने व्यवस्था छ । ‘पशु आहारा कार्यक्रमअन्तर्गत विद्यार्थी भान्सामा जान पाउँछन् । कसरी आहारा तयार गरिन्छ? कस्ता खानेकुरा खुवाइन्छ? भन्ने थाहा पाउनुका साथै आहारा काट्ने र तयार गर्ने काममा पनि उनीहरू संलग्न हुन पाउँछन् । यसबाट विद्यार्थीमा पशुपक्षीप्रति सकारात्मक भावना जागृत हुन्छ’ उनले भने ।
राति पनि सक्रिय
चिडियाखानामा रहेका केही जनावरले राति यौन सम्पर्क राख्ने गरेका छन् । कतिपय जनावर दिउँसोका साथै राति पनि त्यस्तो कार्य गर्ने गर्दछन् । चिडियाखानाका सहायक क्युरेटर गणेश कोइरालाले दुम्सीले राति यौन सम्पर्क राख्ने गरेको बताउँदै भने, ‘दिउँसो र राति यौन सम्पर्क राख्ने जनावरहरू प्रायः सबै नै हुन् ।’ राति बढी सक्रिय हुने जनावरमा बँदेल, बाघ, गैँडा, हिप्पो, काठेभालु, चितुवा, चरी बाघ, निर बिरालो, वन बिरालो आदि रहेका छन् ।
हात्तीलाई आगोको न्यानो
चिसो बढेपछि चिडियाखानामा पवनकली नामले परिचित हात्तीलाई आगो बालेर न्यानो गराइने गरिएको छ । हात्तीका पछुवा दीपेन्द्र राजवंशीका अनुसार गत मङ्सिरदेखि आगामी फागुन महिनासम्म आगो बालेर न्यायो गराइने गरिएको छ । हरेक साँझ साढे पाँच बजेदेखि राति ११ बजेसम्म हात्ती बसोबास गर्ने स्थलमा आगो बाल्ने गरिएको छ । पवनकलीले पीपलको पात खाने गरेको र त्यसको डाँठलाई वर्षभरि सुरक्षित राख्ने गरिएको छ र त्यसैलाई जाडोमा आगो बालेर प्रयोग गर्ने गरिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।
ललितपुर चिडियाखाना ग्रहदशा