News

माघमा नयाँ नेतृत्वः फेरि पनि डिआइजीबाटै आइजिपी

माघमा नयाँ नेतृत्वः फेरि पनि डिआइजीबाटै आइजिपी

काठमाडौंः नेतृत्व विकास प्रणाली नहुँदा नेपाल प्रहरीमा फेरि प्रहरी नायब महानिरीक्षक (डिआइजी) बाटै प्रहरी महानिरीक्षक (आइजिपी) मा बढुवा गरिने भएको छ । यसअघि दुईपटक एआइजीको अनुभव नभई दुईजनालाई आइजिपी बनाउँदा समस्या देखिएको जनाउँदै फेरि पनि उही प्रक्रिया दोहोरिँदा संगठन कमजोर हुने भन्दै प्रहरी अधिकारीले चिन्ता जनाएका छन् ।

आइजिपी सर्वेन्द्र खनाल डिआइजीबाट सीधै आइजिपीमा बढुवा भएका हुन् । त्यसअघिका आइजिपी प्रकाश अर्यालसँग पनि एआइजीका रूपमा काम गरेको अनुभव थिएन । यसरी माथिल्लो तहका पदमा अनुभव नै नभई प्रहरी नेतृत्व सम्हाल्दा संगठनमा नकारात्मक असर देखिन थालेको प्रहरी अधिकारी बताउँछन् । 

नेपाल प्रहरीमा माघमा नेतृत्व परिवर्तन हुँदै छ । आइजिपी खनाल र सबै एआइजीले एकैपटक अवकाश पाउने भएकाले डिआइजीबाटै सीधै आइजिपी बढुवा गर्नुपर्ने अवस्था आउन लागेको हो । वृत्ति विकास योजनाको अभाव र ३० वर्षे सेवाहदको प्रावधानले यस्तो अवस्था सिर्जना भएको प्रहरी अधिकारी बताउँछन् । यसले प्रहरी नेतृत्वको अनुभव नहुने र त्यसले संगठनमा असर पर्ने उनीहरूको चिन्ता छ । 

आइजिपी खनाल, तीन एआइजी र २० जना डिआइजीले २८ माघमा ३० वर्षे सेवाहदका कारण एकैपटक अवकाश पाउन लागेका हुन् । त्यसपछि ठाकुर ज्ञवाली, तारिणी लम्साल, शैलेश थापा क्षत्री, हरि पाल, निरज शाही र प्रद्युम्न कार्की प्रहरीमा सिनियर डिआइजी हुनेछन् । प्रहरी नियमावलीमा भने एआइजी नभएको अवस्थामा डिआइजीबाट समेत सीधै आइजिपीमा बढुवा गर्न सकिने प्रावधान राखिएको छ । त्यसैले उनीहरूमध्येबाटै सरकारले बढुवा गर्नुपर्नेछ । ६ जनामध्ये पनि ज्ञवाली र लम्साल सिनियर ब्याचका हुन् । दुईमध्ये एक आइजिपीमा बढुवा हुने सम्भावना रहेको गृह मन्त्रालयका एक अधिकारीले बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

डिआइजी आइजिपी

विशेष