शुक्लाफाँटामा अस्ताइन् ‘रतनकली’
कञ्चनपुरः वि.सं २०३५ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ल्याइएको हात्ती ‘रतनकली’ को बिहीबार राति मृत्यु भएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालका अनुसार ८४ वर्षीया रतनकलीको चराउन लगेका बेला मृत्यु भएको हो ।
प्रमुख संरक्षण अधिकृत पौड्यालले भने, ‘चर्दाचर्दै हात्ती बस्यो, हात्तीसार ल्याउन नसकेपछि कर्मचारीले राति पहरा दिँदै गर्दा निधन भयो ।’ रतनकलीलाई ४१ वर्षअघि चितवन राष्ट्रिय निकुञ्जबाट शुक्लाफाँटा ल्याइएको थियो ।
हात्तीको औसत आयू ७० देखि ८० वर्ष हुने गर्छ । रतनकलीको अन्येष्टिमा शुक्रबार निकुञ्ज प्रशासन, स्थानीय वडा कार्यालय, मध्यवर्ती, सेना र हात्तीसारका कर्मचारी सहभागी रहेको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जमा दश वटा हात्तीको दरबन्दी रहे पनि सात वटा मात्रै थिए । प्रमुख संरक्षण अधिकृत पौड्यालले निकुञ्जको गस्ती, पर्यावरणका लागि अझै पाँच वटा हात्ती आवश्यक रहेको बताए ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज रतनकली