सिरियाको इदलिब प्रान्तबाट २ लाख बढी विस्थापित
एजेन्सी । युद्धग्रस्त सिरियाको विद्रोही नियन्त्रित प्रान्त इदलिब प्रान्तबाट दुई लाख ३५ हजार भन्दा बढी मानिस बिस्थापित भएका छन् । केही दिनयता सो क्षेत्रमा सुरक्षा कारवाही तीव्र भएपछि सर्वसाधारण विस्थापित भएका हुन् । डिसेम्बर १२ देखि २५ को विचमा ठूलो संख्यामा सर्वसाधारण विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
दशौँ हजार परिवार ट्रक तथा निजी कारमा घर छोडेर उत्तर तर्फ गएका हुन् । आक्रमणका कारण मारात अल–नुमान तथा नजिकका शहरहरु लगभग खाली भएका छन । बिस्थापितहरु इदलिबका अरु शहर तथा शरणार्थी शिविरहरुमा गएका छन् ।
केही छिमेकी प्रान्त एलेप्पोमा गएका छन् । बिस्थापित भएकाहरुलाई आश्रयसँगै अत्यावश्यकीय सामग्रीहरु खाद्यान्न, स्वास्थ्य सेवा, जाडोबाट जोगिने सामग्रीहरुको खाँचो रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
इदलिब विपक्षी लडाकुको नियन्त्रणमा रहेको सिरियाको एकमात्रै क्षेत्र हो ।
सो क्षेत्रका लडाकुहरु राष्ट्रपति बसर अल–असदको विपक्षमा छन् । सो क्षेत्रमा नोभेम्बरदेखि रुसको साथ पाएको राष्ट्रपति असद समर्थिक गठवन्धन सेनाले हवाई तथा स्थल आक्रमण गर्दै आएको छ ।
इन्धन अभाव र चालकहरुले बम आक्रमणमा पर्न सक्ने भन्दै गाडी चलाउन अस्वीकार गरेपछि ठुलो संख्यामा सर्वसाधारण सो क्षेत्रवाट निस्कन पाएका छैनन् ।