News

अर्को वर्षबाट विद्युत निर्यात गरिन्छ : कुलमान

अर्को वर्षबाट विद्युत निर्यात गरिन्छ : कुलमान

काठमाडौँ । पछिल्ला दिनमा दैनिकजसो बिजुली जान थालेको छ । तर, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने अर्को वर्षबाट नेपाल विद्युत् निर्यात गर्ने देशका रुपमा परिचित हुने जिकिर गर्नुभएको छ ।

राजधानीमा नेपाल जनप्रशासन सङ्घले गरेको कार्यक्रममा घिसिङले कतिपय जलविद्युत् आयोजना सम्पन्न भएका र केही आयोजना सम्पन्न हुने चरणमा रहेको जानकारी दिनुभयो । 

विसं १९६८ सालमा फर्पिङ जलविद्युत् आयोजनाबाट बिजुलीको शुरुवात भएको हाम्रो देशमा एकसय वर्षसम्म मुलुकको विद्युत् उत्पादन क्षमता एक हजार मेघावाट नपुगेको भन्दै घिसिङले चालु आर्थिक वर्षभित्र विद्युत क्षमता दुई हजार मेघावाट नघाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाललाई बिजुलीमा आत्मनिर्भर बनाउने चरणमा पुगेका छौँ, लोडसेडिङ अन्त्य मात्रै हाइन, वर्षात्को समयमा विद्युत्मा आत्मनिर्भर भइसकेको छ, अर्को वर्षदेखि विद्युत् निर्यात गर्ने देशका रुपमा परिचित हुँदैछौँ ।”

हिउँदयाममा केही आयात गर्नुपर्ने भए पनि बर्सातमा भने आयातभन्दा धेरै निर्यात हुने अवस्थामा पुगेको उहाँको भनाइ छ ।

विद्युत् चुहावट हुनबाट रोक्नु अर्को चुनौती रहेको भन्दै उहाँले त्यसलाई रोक्न निरन्तर लागिरहेको जानकारी दिनुभयो । तीन वर्षअघि २६ प्रतिशत चुहावट रहेकामा अहिले १५ प्रतिशतमा झारेको र त्यसबाट वार्षिक रु सात अर्ब बढी थप आम्दानी गरेको उहाँको भनाइ छ ।

अहिले प्राधिकरण पूर्वाधार लगानी गर्ने हैसियतमा पुगेको र सरकारले छुट्याएको बजेटबाहेक प्राधिकरण आफैँ १० अर्ब लगानी गर्न सक्ने अवस्थामा पुगेको जिकिर गर्नुभयो । तीन वर्षभित्रमा सबै नेपालीको घरमा विद्युत्को पहुँच पु-याउने सरकारी अभियान सफल पार्न प्राधिकरण क्रियाशील रहेको उहाँको भनाइ छ । 

कुलमान घिसिङ

विशेष