News

'केन्द्रीय समितिको निर्णयप्रति कसैलेपनि असहमति राख्नुपर्ने कारण छैन'

'केन्द्रीय समितिको निर्णयप्रति कसैलेपनि असहमति राख्नुपर्ने कारण छैन'

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले पार्टीको केन्द्रिय कार्यसमितिको बैठकले हिजो गरेका निर्णयका बारेमा कसैलेपनि असहमति राख्नुपर्ने कारण नरहेको स्पष्ट पारेका छन् । 

शनिबार राजधानीमा आयोजित साक्षात्कार बोल्दै नेता महतले पार्टी सभापति शेरबहादुर देउवाले सबैसँगको छलफल र सहमतिपछि नै महाधिवेशनको मिति तोकेको जिकिर गरे । 

उनले भने,‘हिजो बसेको केन्द्रिय कार्यसमिति बैठकमा उपस्थिति सदस्यहरुले सर्वसम्मतीले २०७७ फागुन ७ गतेदेखि फागु १० गतेसम्म अधिवेशन गर्ने निर्णय गरेको हो । यो समग्र पार्टीको चाहना हो ।’

उनले सोहीअनुसार वडादेखि सम्पूर्ण तहसम्मको अधिवेशन कार्यतालिकापनि सार्वजनिक गरिएको सुनाए । हिजोको बैठकले विभागको संख्या थप्नेपनि निर्णय गरेको र बढिभन्दा बढि साथीहरुलाई जिम्मेवारी दिने उद्देश्य राखेको पनि महतले स्पष्ट पारे । उनले भने,‘यसमा पनि कसैको असहमति हुनुपर्ने कुनै कारण म देख्दिन् । बरु, हिजोको बैठकमा नेविसंघलाई पूर्णता दिनेबारे निर्णय गर्न सकिएन । यसबारेमा केही असहमति बाँकी भएकाले हिजो नेविसंघबारे निर्णय नभएको हो ।’ 

केन्द्रिय कार्यसमितिको बैठकले पारित गरेका निर्णयका बारेमा असहमति गर्ने विषय केही पनि नभएको उनको जिकिर छ । 

उनले उपनिर्वाचन सम्पन्न भएपछि पार्टीमा फेरि अर्कै परिस्थिति सिर्जना भएको भन्दै यसलाई दुर्भाग्यको संज्ञा दिए । उनले भने,‘आफ्नो असन्तुष्टि र असहमति छ भनेपनि यसको छलफलको थलो केन्द्रिय कार्यसमितिलाई बनाउनुपर्छ । हामी बहस तथा छलफल गरेर नै यो निश्कर्षमा पुगेका हौं ।’ महतले पार्टीको सम्पूर्ण ध्यान अब सरकारले गरेका मनपरी कामको विरोधमा हुनुपर्ने सुनाए । एमसीसी कांग्रेसकै पहलमा सम्झौता भएको सुनाउँदै महतले उक्त विषयमा अनावश्यक विवाद र आशंका गर्न नहुने जिकिर गरे । 
 

विशेष