News

रामचन्द्र पौडेलको आरोपः ‘सभापति देउवाले पार्टीलाई धरापमा पारे’

रामचन्द्र पौडेलको आरोपः ‘सभापति देउवाले पार्टीलाई धरापमा पारे’

काठमाडौंः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका तीन शीर्ष नेताले केन्द्रीय कार्यसमितिले शुक्रबार गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै सभापतिले पार्टीलाई धरापमा पारेको आरोप लगाएका छन् । 

सभापति शेरबहादुर देउवासहितका बहुमत सदस्यहरुको बैठकले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुका साथै विभागको संख्या २८ बाट बढाएर ४७ पुराउने निर्णय गरेको थियो । केन्द्रीय समितिको बैठकमा नगएर असन्तुष्टि जनाउँदै आएको पौडेल समूहले शनिबार महाराजगन्जस्थित महामन्त्री डा. शशांक कोइरलाको निवासमा जम्मा भएका पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाको आलोचना गरे ।

वरिष्ठ नेता पौडेलले १४ औं महाधिवेशन कार्यतालिका र विधान मिचेर गरिएको विभाग गठन निर्णय नमान्ने चेतावनी पनि दिए । नेता पौडेलले भने, ‘पार्टीलाई धरापमा पारियो, हामीसँग जति भए पनि समय थियो । २०७७ मंसिर ४ र ५ गतेतिर महाधिवेशन गराउनुपर्छ भन्ने हाम्रो माग थियो, तर २०७७ को पल्ला छेउमा लगेर महाधिवेशनको मिति तोकियो । यो नै डरलाग्दो कुरा हो ।’ 

यस्तै महामन्त्री डा. कोइरालाले पनि सभापति देउवाको निर्णय कदमको विरोध गरे । कांग्रेस एकताबद्ध भएर अगाडि बढे मात्रै जनताले मुलुक सञ्चालनको पालो दिने बताए । उनले सभापति देउवासँग छलफल भइरहेको बेलामा बैठकको निर्णय सार्वजनिक हुन ठीक भएन भन्दै आपत्ति प्रकट गरे । महामन्त्री कोइरालाले सभापति देउवाको निर्णयले कांग्रेसको अस्तित्व खतरामा पार्ने काम भएको आरोप पनि लगाए । 

पूर्व महामन्त्री प्रकाशमान सिंहले अन्तिम समयमा म्याद थपौँ भन्ने कुरा ठीक नभएको भन्दै सभापति देउवाको कदमको विरोध गरे । बेला–बेलामा सभापति देउवाप्रति कडा भनाइ राख्दै आएका सिंहले कार्यसमितिले गरेको निर्णय ‘लोकतान्त्रिक पार्टीभित्रको अलोकतान्त्रिक कदम’ भएको टिप्पणीसमेत गरे ।  

रामचन्द्र पौडेल शेरबहादुर देउवा धराप

विशेष