राजाको शासन र अहिले विकास खर्च किन उस्तै हुन्छ ?
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठीले निजामति कर्मचारीको कार्यशैली नफेरिँदा नागरिकले परिवर्तनको अनुभूति गर्न नपाएको टिप्पणी गरेका छन् ।
विगतमा राजाको शासनकाल र अहिले बहुमतको सरकार हुँदा पनि सरकारको काम उस्तै उस्तै देखिनुमा कर्मचारीको मनोवृत्ति मुख्य कारण रहेको उनले बताए ।
सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा निजामति कर्मचारीसम्बन्धी विधेयकबारेको छलफलमा उनले भने ‘कहीँ न कहीँ कर्मचारीमा मनोबल बिग्रेको छ । परिणाममा राजाको सरकार हुँदा, बहुमतको, अल्पमतको सरकार हुँदा पनि विकास खर्च उही किन हुन्छ यो कुरासँग यो विधेयक (निजामति कर्मचारीसम्बन्धी विधेयक) सँग कहीँ न कहीँ जोडिन्छ ।’