थुनुवा फरार प्रकरणमा छानविन गर्न प्रहरी टोली
सिरहा – सिरहामा प्रहरी चारैतिर खटिएको सूचना पाएको मौका छोपेर लक्ष्मीपुर पतारी गाउँपालिका–४ स्थित इकाला प्रहरी कार्यालय महेशपुर पतारको हिरासतबाट ११ जना थुनुवामध्ये ८ जना भागेका मध्ये एकजना तत्कालै पक्राउ परे। सात जना अझै फेला परेका छैनन्। साँझको खाना खाने बेलामा थुनुवा कक्षको पछाडी पट्टिको ताल्चा तोडेर भागे। प्रेसर कुकुरको डण्डीले ताल्चा तोडेको प्रहरीले जनाएको छ।
फरार हुनेमा लागुऔषध मुद्दाका प्रतिवादी १९ वर्षीय मोहमद रियाज मिया, ४५ वर्षीय रामआशिष यादव, २६ वर्षीय रणधीरकुमार यादव, २१ वर्षीय गणेश साह, १७ वर्षीय नविन यादव र २० वर्षीय रिशन खड्का छन्। प्रहरीका अनुसार आठजना फरार भएकोमा वहु–विवाह मुद्दाका प्रतिवादी २१ वर्षीय सञ्जय यादव तत्कालै पक्राउ परे। फरारलाई पक्राउ गर्न सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले बताए। ‘सीमा सिल गरिएको छ। ठाउँठाउँमा प्रहरी खटाइएको छ’, उनले भने।
प्रदेश २ का डीआइजी प्रद्युम्न कार्कीले घटनाको अनुसन्धान गर्न एसएसपी हरिराज वाग्लेको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। जुन समिति सिरहा आएर छानबिन गरिरहेको छ। के–कति कारण र कमजोरीले थुनुवा फरार भएका हुन् भन्नेबारे टोलीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
सिरहामा दरबन्दीअनुसार प्रहरी जनशक्ति नहुँदा सुरक्षा चूनौती देखिएको छ। जिल्लामा नेपाल प्रहरीतर्फ ९९० जनाको दरबन्दी भए पनि २७२ दरबन्दी रिक्त छन्। घटना भएको दिन शनिबार त सिरहाबाट १०७ जना प्रहरी जनकपुर र महोतरी विवाह पञ्चमी र उपनिर्वाचनमा खटाइएको थियो। ११३ जना जिल्लाभरिबाट कल्याणपुर नगरपालिका–१२ मा भएको उपनिर्वाचनमा खटाइएको थियो।
घटना भएको इलाका प्रहरीमा ४० जनाको दरबन्दी छ। तर त्यहाँ २७ जना मात्रै कार्यरत छन्।