डान्स बारबाट युवतीसहित मेयर पक्राउ
महेन्द्रनगर– महेन्द्रनगरको डान्स बारबाट युवतीसहित मेयर पक्राउ परेका छन्। दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख (मेयर) अमरसिंह धामी ब्लू डान्स बारबाट पक्राउ परेका हुन् ।
डान्स बारमा मदिरा पिएर हो–हल्ला गरेपछि मेयर धामीसहित केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले मेयर धामीसहितका व्यक्तिलाई पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय महेन्द्रनगर स्रोतका अनुसार डान्स बारबाट मेयर धामीसहित केही युवतीलाई समेत नियन्त्रणमा लिइएको हो ।
डान्स बारमा काम गर्ने केही युवतीले आफूमाथि दुव्र्यवहार भएको भन्दै प्रहरीलाई सम्पर्क गरेपछि प्रहरीको टोली डान्स बार पुगेको थियो । वडा प्रहरी कार्यालयका एक प्रहरी प्रहरीका अनुसार प्रहरीको टोली डान्स बार पुग्दा दुवै पक्षबीच विवाद चलिरहेको थियो ।
प्रहरीको टोलीले डान्स बारमा विवाद गर्ने व्यक्तिलाई पक्राउ गरेर केहीलाई जिल्ला प्रहरी कार्यालय र केहीलाई वडा प्रहरी कार्यालय पुर्याएको थियो । प्रहरीले नियन्त्रणमा लिएपछि धामीले आफू जनप्रतिनिधि भएको भन्दै आफूलाई तत्काल रिहा गर्न प्रहरी कर्मचारीलाई नै चेतावनी दिएका थिए । आइतबार राति पक्राउ परेका धामी सोमबार बिहान नै रिहा भइसकेका जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी नरेन्द्र चन्दले डान्स बारमा हो–हल्ला गर्ने व्यक्तिलाई नियन्त्रणमा लिँदा मेयर धामी पनि केही समयका लागि जिप्रका आएको बताए ।
‘डान्स बारमा दुई समूहबीच विवाद भएको थियो । एउटा समूहले मेयर धामीलाई पनि बोलाएको रहेछ । विवाद मिलाउन भनेर उहाँ डान्स बार पुगेको भन्ने कुरा आएको छ,’ डिएसपी चन्दले भने ।
दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर धामीको कञ्चनपुरको भीमदत्त नगरपालिकामा समेत घर छ ।
मेयर धामीले भने आफू डान्सबारमा नगएकाे बताएका छन् । खबरहबको सम्पर्कमा आएका मेयर धामीले डान्सबारमा झगडा भएको विषय आफ्नो जानकारीमा आएपनि आफूलाई प्रहरीले पक्राउ नगरेको बताए ।
‘डान्सबारमा झगडा भएको कुरा मैले पनि सुनेको हुँ । तर, म बारभित्र छिरिनँ । म पक्राउ परेको कुरा सबै झुटो हो,’ मेयर धामीले भने । नेपाली कांग्रेसबाट मेयरमा धामी निर्वाचित भएका हुन्।