फेरि दुई चिनियाँ पक्राउ, घर तथा पार्टी प्यालेस शिल
चितवन – काठमाडौंको बूढानीलकण्ठबाट १ सय २२ चिनियाँ नागरिक पक्राउ परेको केही दिनपछि चितवनबाट फेरि २ चिनियाँ नागरिक पक्राउ परेका छन्। शंकास्पद गतिविधि सञ्चालन गर्दै आइरहेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। चितवन प्रहरीले भरतपुरको सिजी ल्याण्डमार्कस्थित होटल फेनमा शंकास्पद गतिविधि गरिरहेको अवस्था उनीहरुलाई विशेष सूचनाको आधारमा पक्राउ गरेको हो।
चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले पक्राउ परेका चिनियाँलाई अभद्र व्यवहार र साइवरक्राइम कसुरअन्तर्गत अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको जानकारी दिए । उनका अनुसार यी दुई चिनियाँ नागरिकले होटल फेन प्रयोग गरेर चितवनमा ठूलो चिनियाँ लगानी भित्राउने भन्दै गतिविधि सञ्चालन गर्दै आइरहेका थिए ।
प्रहरीका अनुसार, होटलका अलावा भरतपुरका विभिन्न घर चल्तीको मूल्यभन्दा बढी रकम दिएर उनीहरूले भाडामा लिएको पाइएको छ । ३० हजार भाडाको घरलाई उनीहरूले २ लाखसम्म तिर्नेगरी सम्झौता गरेको प्रहरीले फेला पारेको छ । यति मात्रै होइन, भरतपुरमा रहेको एक पार्टी प्यालेससमेत उनीहरूले भाडामा लिएको पाइएको छ ।
प्रहरी प्रमुख मल्लका अनुसार, केहीले काठमाडौंमा काम गर्ने गरी अनुमति लिएका छन् । केही टुरिष्ट भिसामा छन् । उनीहरु यहाँबाट भागेपछि प्रहरीले उनीहरू बसेको घर तथा पार्टी प्यालेसमा सिल गरेको र थप अनुसन्धान भइरहेको उनले बताए ।
चिनियाँहरुले रातदिन घरभित्रै बसी शंकास्पद गतिविधि गरेको स्थानीयहरूले प्रशासनमा खबर गरेका थिए । उनीहरूले गत असोज महिनादेखि भरतपुरमा यस्ता गतिविधि बढाउँदै लगेका थिए । प्रहरीले निगरानी बढाएपछि केही चिनियाँहरु आफ्ना उपकरणसहित भागेको जनाइएको छ ।
यसअघि काठमाडौंको बूढानीलकण्ठमा पनि चिनियाँहरूले अखडा जमाएर बसेका थिए । शंकास्पद गतिविधि गरेको स्थानीयको उजुरीका आधारमा प्रहरीले त्यहाँबाट १२२ चिनियाँलाई पक्राउ गरेको छ । अहिले उनीहरूमाथि प्रहरीले उनीहरूमाथि अनुसन्धान गरिरहेको छ ।