सामाजिक सञ्जालबाट जिस्काए ५ वर्ष जेल, १५ लाख जरिवाना

काठमाडौं। सामाजिक सञ्जाल प्रयोग गरी कुनै व्यक्ति, सरकार तथा संघसंस्थाको मानहानि हुने गरी जिस्क्याउने, झुक्याउने, होच्याउने र हतोत्साही गर्ने खालका गतिविधि गरे १५ लाख रुपैयाँ जरिवाना हुने भएको छ ।
प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले सूचना प्रविधिसम्बन्धी विधेयकमा यस्तो विषय समेटेर पारित गरेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदले विरोध गरे पनि समितिले बहुमतसहित आइतबार विधेयक पारित गरेको हो । कांग्रेस सांसदले विधेयकको समग्र विषयमा सरोकारवाला पक्ष र सञ्चार क्षेत्रसँग छलफलको माग गरेका थिए ।
नागरिक स्वतन्त्रता, मौलिक हक हनन गर्ने, संविधानको मर्म र भावनाविपरीत विधेयक पारित गर्न खोजेको भन्दै कांग्रेस सांसद बहादुरसिंह लामाले फरक मत राखेका थिए । उनले लिखित रूपमै सभापति कल्याणी खड्कालाई फरक मत दर्ता गराएका थिए । उनको फरक मत पेस भएपछि समिति बैठकमा विधेयकमाथि हात उठाएर मत जाहेर गरिएको थियो ।
विधेयकमा सामाजिक सञ्जालमा कुनै व्यक्तिलाई निरन्तर जिस्क्याउने, झुक्याउने, होच्याउने र हतोत्साही गर्ने खालको विषय लेखिएको खण्डमा ५ वर्ष जेल वा १५ लाख जरिवाना वा दुवै सजाय हुन सक्ने प्रावधान छ । यो समाचार आजको राजधानी दैनिकमा सबिन शर्माले लेखेका छन ।
सामाजिक सञ्जाल