विवाह गरौँ भनेपछि प्रेमिकाको हत्या
ताप्लेजुङ । मंसिर १७ गते विहान ५ नबज्दै मन्दिरा अधिकारी उठिन्। घर कसिंगर गरिन्। आगो जोडिन्। चिया पकाइन्। अनि आमा कृष्णमायालाई बोलाउन ओछ्यानमै पुगिन्। सधैं ढिलो उठ्ने छोरी आफूभन्दा पहिले उठेर बोलाउँदा आमा दंग परिन्। दिउँसो दिदी एलिसा, मन्दिरा र आमा तिनैजना मिलेर आगनकै खलोमा मास कुटे।
बुवा नन्दकुमार कामको सिलसिलामा सदरमुकाम फुङलिङ गएका थिए। भोलिपल्ट छिमेकीको पर्म तिर्न जानुपर्ने थियो। बेलुका खाना खाने क्रममा आमाले मन्दिरालाईं भनेकी थिइन्, ‘दिदी र म बाँकी मास कुट्छौं, तँ मेला जा है।’ खाना खाएर ‘हुन्छ’ भन्दै निस्किएकी आठराई त्रिवेणी गाउँपालिका–२ चोकपुरकी १९ वर्षिय मन्दिरा हालसम्म बेपत्ता छिन्।
मन्दिरालाई बेपत्ता पारेको अभियोगमा दाजु नाताका रमेश अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुबिच प्रेम सम्बन्ध रहेको खुलेको छ। रमेशले बयानमा मन्दिराको हत्या गरेको स्विकारेको प्रहरीले जनाएको छ । ‘मन्दिरा र मेरो दुई वर्षदेखि प्रेम थियो। उसले बिहे गरौं भनेर दबाब दिइरहेको थियो।
हामी दुवै अधिकारी भएकाले बिहे गर्न मिल्दैनथ्यो। त्यसैले मारिदिएँ’, रमेशको बयान उदृत गर्दै प्रहरीले भनेको छ। मन्दिराको शव नभेटिएकाले प्रहरीले रमेशलाई व्यक्ति बेपत्ता पारेको अभियोगमा मुद्धा दायर गरी अनुसन्धान गरिरहेको छ। यो समाचार अन्नपुर्ण पोस्ट दैनिकमा प्रकाशित छ।
हत्या