गृहमन्त्रालयको निर्देशन : आपराधिक गतिविधि रोक
काठमाडौं । गृह मन्त्रालयले आपराधिक गतिविधि रोक्न प्रहरीलाई आवश्यक कदम चाल्न निर्देशन दिएको छ ।काठमाडौं उपत्यकालगायत देशभर आपराधिक गतिविधि बढेकाे भन्दै गृहले आवश्यक कदम चाल्न निर्देशन दिएको हाे।
मंगलबार गृहमन्त्री रामबहादुर थापा तथा सचिव प्रेमकुमार राईसमेतको बैठकले मुख्य सहरी क्षेत्रमा घरभाडा लिएर विभिन्न व्यक्ति र समूहले आपराधिक गतिविधि गरिरहेको निष्कर्ष निकाल्दै यस्तो निर्देशन दिएको हो ।
विभिन्न व्यक्ति तथा समूहद्वारा आपराधिक गतिविधिहरू गर्ने, चोरी, डकैती, लुटपाट, बैंकिङ कसुरजस्ता आर्थिक अपराध, साइबर अपराध, यौनजन्य क्रियाकलाप तथा विस्फोटक पदार्थहरूको भण्डारण र प्रयोग गरी विध्वंसात्मक एवम् अराजक गतिविधि गर्ने गरेको पाइएको गृहले जनाएको छ ।
यस प्रकारको क्रियाकलापले समग्र शान्ति सुव्यवस्थामा गम्भीर असर पार्ने भएकाले काठमाडौं उपत्यका लगायत देशका मुख्य मुख्य शहरी क्षेत्रहरुमा घर भाडामा दिने र लिने व्यक्ति, संस्था, कार्यालयले दिने परिचय नजिकको प्रहरी कार्यालयमा जानकारी दिन गृहले सर्वसाधारणलाई अनुरोध पनि गरेको छ ।