‘घुस लिने’ दोलखाका तत्कालीन सीडीओ रिजाल पक्राउ
काठमाडौं– दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) उपसचिव खगेन्द्रप्रसाद रिजाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएकाे छ ।
रिजालमाथि घुस लिएकाे आरोपमा थप अनुसन्धानका लागि भन्दै अख्तियारले मंगलबार उनलाई नियन्त्रणमा लिएको हो । आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तहरुसँग घुस लिएको आरोप लागेपछि रिजाल अहिले निलम्बनमा छन् ।
रिजाललाई नियन्त्रणमा लिइएको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले पुष्टि गरे । अभद्र व्यवहार सम्बन्धी मुद्दामा पक्राउ परेका अभियुक्तसँग रिजालले ९० हजार घुस लिएको विषय सार्वजनिक भएको थियो । घुस लिएको विषय सार्वजनिक भएपछि गृह मन्त्रालयले गत बिहीबार नै उनलाई जिम्मेवारीबाट हटाएर मन्त्रालयमा तानेको थियो ।