अझै पनि दलित र गैह्रदलितका अलग अलग धारा !
काठमाडाैँ - जातीय भेद्भाव तथा छुवाछूत (कसूर र सजाए) ऐन २०६८ पारित भएको आठ वर्ष वितिसक्दा पनि अझै जातीय छुवाछूतको जरा उखेलिन सकेको छैन । अमरगढी नगरपालिकाकै वडा नं ५, ६, ७ र ८ का एउटै टोलमा रहेका दलित र गैह्रदलित परिवार छुट्टाछुट्टै नोला र धाराको पानी प्रयोग गर्छन् । दुवैका नोला र धारा करीब १५ देखि ५० मिटरको फरकमा हुन्छन् ।
बाक्लो बस्ती रहेको अमरगढी नगरपालिका–६ छचोडामा २५० दलित सुमुदायका टमटा जाती बस्छन् भने २० गैह्रदलित साहु र खड्का र रावल थर मानिस बस्छन् । टमटा गाउँमा दलितको नोला र धारामा पानी हुँदा गैह्रदलितको नोला र धारामा प्रशस्त पानी भएको बेलामा समेत पानी प्रयोग गर्न नपाइएको स्थानीय शिक्षक भक्तबहादुर बिकले बताए।
स्थानीय समाजसेवी पदम ताम्राकारले दलित समुदाय गर्मीयाममा पानीका लागि रातभरी जाग्राम बस्नुपर्ने वा दुई घण्टाको पैदलदुरीमा रहेको खोलाबाट फोहर पानी पिउनुपर्ने बाध्यता बताए ।
अमरगढी–७ जोशी गाउँमा पनि दमाईँ र जोशी परिवारका लागि छुट्टाछुट्टै पानी धारा बनाइएका छन् । सो गाउँमा दलितबाहेक जोशी परिवारको बाहुल्यता छ । पहिलाबाट नै छुट्टाछुट्टै धारा प्रयोग गरे पनि दलित परिवारलाई आफ्नो धारामा रोक नलगाएको जोशी परिवारको भनाइ छ । जोशी परिवारमा महिला महिनावारी र सुत्केरी हँुदा दलितले प्रयोग गर्ने धारामा नुहाउने गरेको स्थानीय सुनादेवी दमाइँले जनाए।
दलित अगुवा भरत नेपालीले दलित र गैह्रदलित दुवै समुदायको क्षमता र चेतनाको विकास नभएसम्म जातीय विभेदको दुरीको अन्त्य हुन नसक्ने नेपालीको भनाइ छ । सुदूरपश्चिमका पहाडी जिल्लामा दलित र गैह्रदलितका लागि छुट्टाछुट्टै धारा, कुवा र पँधेरा रहेको पाइन्छ।