News

४ दिनपछि खुल्यो बेनी–जोमसोम सडक

४ दिनपछि खुल्यो बेनी–जोमसोम सडक

मुस्ताङः हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक ४ दिनपछि सञ्चालनमा आएको छ ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइँठेभिरमा सुक्खा पहिरो खसेपछि पुस ११ गतेदेखि अवरुद्ध भएको सडक सोमबार साँझदेखि सञ्चालनमा आएको हो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनका अनुसार पहिरो पन्छाएर मर्मत गरेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सञ्चालन गरिएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाको ठेकेदार कम्पनी शर्मा–गजुरमुखीको एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाइएको हो । गुइँठेभिरमा निरन्तर पहिरो खस्न थालेपछि वैकल्पिक सडक बनाउने प्रयास गरे पनि सफल भएको थिएन ।

बाइपास सडक सफल नभएपछि पुरानै बाटो मर्मत गरेर सवारी सञ्चालन गरिएको सीमा प्रहरी चौकी भुरुङ्ग–तातोपानीका ट्राफिक प्रहरी लक्ष्मण क्षेत्रीले बताए । पहिरो पन्छाउन जोखिम मोलेर काम गरेका एक्साभेटर चालकलाई सुपरभाइजर शेरचनले व्यक्तिगतरूपमा रु पाँच हजार पुरस्कार दिएको बताए । 

सडक अवरुद्ध हुँदा देशका विभिन्न ठाउँबाट बेनी हुँदै मुस्ताङ जान हिँडेका र मुस्ताङ हुँदै बेनीतर्फ छुटेका सवारी साधन बीच बाटोमै रोकिएका थिए । यातायात व्यवसायीले गाडी बदली गरेर यात्रुलाई गन्तव्यमा पुर्‍याउने व्यवस्था मिलाए पनि ढुवानीका साधनको आवतजावत ठप्प भएको थियो ।   

मुस्ताङ बेनी–जोमसोम सडक

विशेष