News

अपांगता भएका व्यक्तिलाई डिजिटल परिचयपत्र वितरण

अपांगता भएका व्यक्तिलाई डिजिटल परिचयपत्र वितरण

कास्कीः कास्कीको माछापुच्छ्रे गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिलाई देशमै पहिलोपटक डिजिटल परिचयपत्र वितरण सुरु गरिएको छ । गाउँपालिकामा रहेको अपाङ्गता समन्वय समिति र राष्ट्रिय अपाङ्ग महासङ्घ गण्डकी प्रदेशको सहकार्यमा व्यक्तिको सम्पूर्ण विवरणसहितको राम्रो गुणस्तरको पानीमा खस्दासमेत नबिग्रने किसिमको परिचयपत्र वितरण गर्न लागिएको हो ।

गाउँपालिकाले गत कात्तिक १७ देखि २४ गतेसम्म नौ वटै वडामा शिविर सञ्चालन गरेर अपाङ्गता भएकाहरूको विवरण सङ्कलन गरेको थियो । सोही आधारमा दर्ता भएका आवेदनमध्येबाट सोमबारदेखि ४५६ जनालाई डिजिटल प्रविधिको परिचयपत्र वितरण शुरुआत गरिएको हो । पूर्ण अशक्त रातो रङको परिचयपत्र प्राप्त गर्ने १०८ रहेका छन् । पूर्ण अशक्तलाई रातो, अति अशक्तलाई निलो तथा मध्यम र सामान्यलाई पहेँलो र सेतो परिचपत्र तयार गरिएको छ । परिचयपत्रका आधारमा सार्वजनिक यातायात, स्वास्थ्य सेवालगायतमा उनीहरूले सहुलियत तथा सुविधा पाउँदै आएका छन् ।

गाउँपालिकाको वडा नं १ मा ४५, २ मा ७०, ३ मा ४७, ४ मा १०३ र ५ मा २४ अपाङ्गता भएका व्यक्ति रहेका छन् । त्यसैगरी वडा नं ६ मा ४८, ७ मा ५४ तथा वडा नं ८ र ९ मा ३० र २३ रहेको समन्वय समितिका संयोजक एवं गाउँपालिका उपप्रमुख कृष्णकुमारी दवाडीले बताए । 

महासङ्घ गण्डकीका अध्यक्ष खोमराज शर्माले नेपालमै पहिलोपटक माछापुच्छ्रे गाउँपालिकाबाट डिजिटल परिचयपत्र वितरण सुरु भएको बताए । उनले यसअघि देशका कुनै पनि पालिकामा डिजिटल परिचयपत्र वितरण गरिएको जानकारी महासंघमा नरहेको बताउँदै प्रथमपटक सुरुआत भएको उल्लेख गरे । 

गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिको सवालमा चासो दिएकै कारणले सहकार्यमा माछापुच्छ«ेबाट गुणस्तरीय डिजिटल प्रविधिको परिचयपत्र वितरण शुरु भएको बताउँदै उनले यसबाट अपाङ्गता भएकालाई आवश्यक नीति निर्माणमा समेत सघाउ पुग्ने उल्लेख गरे । गाउँपालिका प्रमुख कर्णबहादुर गुरुङले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ को दफा ४ बमोजिम स्थानीय तहलाई प्राप्त अधिकारबमोजिम तथ्याङ्क सङ्कलन गरी परिचयपत्र वितरण गरिएको जानकारी दिए । 

उनले रातो परिचयपत्र भएकालाई राज्यले हाल मासिक रु तीन हजार प्रदान गर्दै आएबाट रातो परिचयपत्रका लागि नागरिकको जोड रहने गरे पनि सेतो र पहेँलो परिचयपत्र हुनेले राज्यबाट बढी अवसर प्राप्त गर्ने बताए । परिवारमा एक अपाङ्ग व्यक्ति हुँदा त्यसले सम्पूर्ण परिवारलाई नै प्रभावित पार्ने भएकाले अपाङ्गता हुन नदिन प्रयत्न गर्नुपर्नेमा उनको जोड थियो । 

कास्की डिजिटल परिचयपत्र

विशेष