विदेश

डढेलोका कारण ज्यान गुमाउनेको संख्या १२ पुग्यो

डढेलोका कारण ज्यान गुमाउनेको संख्या १२ पुग्यो

एजेन्सी । अस्ट्रेलियाको तटीय क्षेत्रमा डढेलो फैलिएपछि हजारौँ मानिसहरू भागेर समुद्रको किनारमा शरण लिन पुगेका छन् । भिक्टोरियामा एउटा डढेलो तटीय सहर म्यालकूटातर्फ फैलिँदै गर्दा धुवाँ र खरानीले घरहरू ढाकिएका छन् ।

स्थानीय बासिन्दाहरूले समुद्रको किनारमा सीमित सामग्रीको भरमा रातो आकाशमुनि रात बिताउनुपरेको बताएका छन् । यसैबीच अधिकारीहरूले न्यू साउथ वेल्समा दुई जनाको मृत्यु भएको पुष्टि गरेपछि डढेकोका कारण अस्ट्रेलियामा ज्यान गुमाउनेहरूको संख्या १२ पुगेको छ ।

सिड्नी र मेल्बर्नको बीचमा पर्ने कतिपय बिदा मनाउने स्थानहरू डढेलोका कारण बन्द भएका छन् । न्यू साउथ वेल्स र भिक्टोरियाको ५०० किलोमिटर क्षेत्रमा आपत्कालीन स्तरका एक दर्जनभन्दा बढी डढेलो लागेको छ । बुवा र छोरा अनुमान गरिएका दुई जनाको शव कोवार्गो सहरमा फेला परेको थियो ।

सो सहरको मूल सडकमा मंगलबार ठूलो आगलागी भएको थियो । बीबीसीले जनाए अनुसार अधिकारीहरूले अन्य पाँच जना हराइरहेको बताएका छन् । भिक्टोरियाका राज्य प्रमुख ड्यान्यल एन्ड्र्यूजले जलसेनाको जहाजलाई सडक बन्द भएका सहरहरूमा खाना, पानी र बिजुली उपलब्ध गराउन बोलाउन सकिने बताएका छन् ।

त्यहाँको मुख्य राजमार्ग बन्द गरिएको छ । अधिकारीहरूले ती स्थानका मानिसहरूलाई यथास्थानमा रहन आग्रह गरेका छन् । उनीहरूलाई सोमवार उद्धार गर्न ‘ढिलो र खतरनाक’ भएको बताइएको थियो । अस्ट्रेलियामा उच्च तापक्रम, वायु र बिजुली चम्किरहेका कारण डढेलो बढेको छ ।

विशेष