News

उपनिर्वाचन परिणाम : नेकपाले महत्वपूर्ण दुई स्थान गुमाउँदा कांग्रेसलाई फाइदा

उपनिर्वाचन परिणाम : नेकपाले महत्वपूर्ण दुई स्थान गुमाउँदा कांग्रेसलाई फाइदा

काठमाडौँ। प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका गरी ३७ जिल्लाका रिक्त ५२ पदमा शनिबार भएको उपनिर्वाचनमध्ये मुख्य स्थानमा नेकपाले आफ्नो स्थान गुमाएको छ । कुल ५२ रिक्त पदमध्ये संख्यात्मक रूपमा नेकपाले ३० स्थानमा आफ्नो पक्षमा जित हात पारे पनि उसले अघिल्लो पटक जितेका प्रदेश सभाअन्तर्गतको भक्तपुर १ (क) र धरान उपमहानगरपालिका आफ्नो पोल्टाबाट गुमाएको छ ।

कांग्रेसले भने उपनिर्वाचनबाट १३ स्थानमा जित हात पारेको छ । कांग्रेसले पहिले आफूले जितेका ७ स्थान गुमाएको छ । यस्तै नेकपाले यसअघि जितेका ५ वडामा कांग्रेसले जितेको छ । तर, पनि मुख्य स्थानमा परिणाम हात परेपछि कांग्रेस सन्तुष्ट छ । भक्तपुर प्रदेश सभामा उपनिर्वाचनबाट कांग्रेसले जनमत आफ्नो पक्षमा पारेको छ भने धरान उपमहानगरपालिकामा ६० वर्षपछि कांग्रेसले जित हात पारेको छ ।

नेकपाले उपनिर्वाचनबाट पहिले जितेको कास्की २ को प्रतिनिधि सभालाई आफ्नै पोल्टामा सुरक्षित राख्दा दाङको प्रदेशसभा ३ (ख) सुरक्षित बनाएको छ । यस्तै यसअघि हारेका दुई गाउँपालिका अध्यक्ष र एक उपाध्यक्ष गरी तीन वटा गाउँपालिमा पनि जितेको छ ।

यसअघि कांग्रेसले जितेको फाल्गुनन्द गाउँपालिका अध्यक्ष, हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्ष र यसअघि राष्ट्रिय जनता पार्टी (राजपा)ले जितेको महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष नेकपाले जितेको हो ।

उपनिर्वाचन भएका देशभरका ४३ वडामध्ये धरान उपमहानगरपापिका ७ को वडाध्यक्षसहित २४ वटा वडाध्यक्ष नेकपाले हात पारको छ ।

यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन ।  

उपनिर्वाचन परिणाम

विशेष