News

बुढीगण्डकीको डुबानमा पर्ने १७ सय रोपनी जग्गाको मुआब्जा निर्धारण

बुढीगण्डकीको डुबानमा पर्ने १७ सय रोपनी जग्गाको मुआब्जा निर्धारण

काठमाडौंः बुढीगण्डकी आयोजनाको मुख्य डुबान क्षेत्र आरुघाट र आर्खेत बजारको मुआब्जा निर्धारण भएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको मुआब्जा निर्धारण समितिको आइतबार बसेको बैठकले डुबान क्षेत्रका जग्गालाई १० वर्गमा वर्गीकरण गरी प्रतिआना ५० हजारदेखि ७ लाख रुपैयाँसम्म निर्धारण गरेको हो ।

मुआब्जाका लागि १७ सय रोपनी जग्गा छुट्याइएको छ । त्यसको मूल्यांकन करिब ४ अर्ब हुने अनुमान छ । समितिले गोरखाको आरुघाट क्षेत्रको जग्गालाई १० वर्गमा र आर्खेतको जग्गालाई २ वर्गमा विभाजन गरेको मुआब्जा वितरण, पुनर्वास तथा पुनस्र्थापना एकाइका प्रमुख कृष्ण कार्कीले बताए । 

आरुघाट बजारको मुख्य सडकको पुरानो बजारपछि मोटर बाटोदेखि प्रहरीचौकी हुँदै बुढीगण्डकीको पक्की पुल जाने चोकसम्म दायाँ–बायाँका घडेरीका साथै अकलाचोकदेखि १ सय ४० मिटर उत्तर जाने सडकको दायाँ–बायाँका जग्गाको प्रतिआना ७ लाख रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै बुढीगण्डकीको पक्की पुल जाने चोकदेखि पुलचोक, हाकिमचोक, क्याम्पस चोक हुँदै अस्पताल चोक र बुढीगण्डकी पुल जाने चोकदेखि बुढीगण्डकीको पक्की पुलसम्मको मुख्य सडकको दायाँ–बायाँ घडेरीको प्रतिआना ६ लाख ५० हजार तोकिएको छ । मध्यपहाडी लोकमार्गको पक्की पुल ९स्थुल खोलाको पुल० देखि भञ्ज्याङ हुँदै प्रहरीचौकीसम्मका दायाँ–बायाँ घडेरी र फिल्महलदेखि विद्युत्चोकसम्मको दायाँ–बायाँको जग्गाको प्रतिआना ६ लाख तोकिएको छ । 

अस्पताल चोकदेखि चापपानी खोला मुख्य सडकको दायाँ–बायाँको जग्गा भने प्रतिआना ३ लाख पाउने भएका छन् ।  विद्युत्चोक पछाडिपट्टिको टोलदेखि कार्कीचोकसम्मको मोटर जाने सडकका दायाँ–बायाँका  जग्गाको प्रतिआना ५ लाख ५० हजार, अकला अन्नपूर्णचोकको १ सय ४० मिटर उत्तरको बिन्दुबाट बुढीगण्डकीपट्टि पुल जाने बाटोसम्मको सडकको दायाँ–बायाँ र हस्पिटलचोकबाट बुढीगण्डकी पक्की पुलतर्फ  आउने खोला–किनाराछेउको बाटोको दायाँ–बायाँको जग्गाको प्रतिआना ४ लाख ५० हजार निर्धारण भएको छ ।

त्यस्तै, अन्य शाखा बाटोको दायाँ–बायाँका घडेरी तथा जग्गाहरूको प्रतिआना ४ लाख, कित्ता नापी नक्सामा गोरेटो बाटोको दायाँ–बायाँका जग्गाहरू प्रतिआना २ लाख, आरुघाट बजारको मुख्य सडकको ६० फिटपछिको थप ६० फिटपछाडि रहेका जग्गाहरूको प्रतिआना २ लाख ५० हजार र त्योबाहेक ६० फिटपछिका जग्गाको प्रतिआना ५० हजार रुपैयाँ निर्धारण भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

बुढीगण्डकी आयोजना मुआब्जा

विशेष