प्रवेश पत्र जलाएर मेडिकल कलेजका विद्यार्थीद्वारा परीक्षा बहिष्कार
काठमाडाैँ – प्रवेश पत्र जलाएर ४ वटा मेडिकल कलेजका विद्यार्थीहरुले परीक्षा बहिष्कार गरेका छन्। अतिरिक्त शुल्क फिर्ताको माग गर्दै आन्दोलनरत विद्यार्थीहरुले पहिलो वर्षको परीक्षा बहिस्कार गरेका हुन्।
नेशनल मेडिकल कलेज, चितवन मेडिकल कलेज, जानकी मेडिकल कलेज र युनिभर्सल कलेज अफ मेडिकल साइन्समा एमबीबीएस, बीडीएस र नर्सिङ अध्ययन गरिरहेका विद्याथीहरुले परीक्षा बहिस्कार गरेका हुन् ।
चितवन मेडिकल कलेजका विद्यार्थीहरुले सडकमा नाराबाजी गर्दै प्रवेश पत्र जलाएका छन् । गत मंसिर १७ गते सरकार र निजी मेडिकल कलेजको सम्झौता पत्रमा एमबीबीएस र बीडीएस संकायअन्तर्गत पहिलो र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीको मात्रै शुल्क समायोजन हुने सहमति भएकाे थियो । उक्त सहमतिले सबै विद्यार्थीहरुको माग पूरा नहुने भन्दै उनीहरुले परीक्षा बहिस्कार गरेका हुन् ।
चिकित्सा शिक्षा संघर्ष समितिका प्रवक्ता सुजन कडेरिया अरु विकल्प केही नदेखेर परीक्षा बहिस्कार गरेको बताउँछन् । भने, ‘आफ्नो मागको लागि परीक्षा बहिष्कार भन्दा ठुलो त्याग के हुन्छ र ? हामीले त आफ्नो भविष्य दाउमा राख्यौँ ।’
सरकारले वार्ता गरेर माग पूरा गरे मात्र फेरि परीक्षा दिने संघर्ष समितिको निर्णय छ । अझै पनि यो विषयमा सरकार गम्भीर नभए राजधानी केन्द्रित आन्दोलन गर्ने तयारी गरेको बताउँदै भन्छन्, ‘ यो भद्र आन्दोलनलाई पनि सरकाले बेवास्ता गरे हामी सबै कलेजका विद्यार्थीहरु काठमाडौँ आएर आन्दोलन गर्छौ ।’ बिहीबारबाट परीक्षा हुँदैछ ।