सोलुमा माओवादीले हमला गर्दा मारिएका मालपोत अधिकृतको हस्ताक्षर गरेर सगरमाथा निकुञ्ज कब्जा
काठमाडौँ। १० मंसिर ०५८ मा सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा युद्धरत तत्कालीन माओवादीले हमला गर्यो । सुरक्षाकर्मी र निजामती कर्मचारीसहित कामु मालपोत अधिकृत भीमबहादुर सम्बाहाम्फेको पनि निधन भयो । घटनामा मालपोतका सम्पूर्ण स्रेस्तासमेत जलेर खरानी भए । देशका लागि यो ठूलो त्रासदी थियो, तर यती एयरको समूहका लागि भने अवसर ।
मालपोतका स्रेस्ता जलेको र अधिकृतको समेत मृत्यु भएको ‘मौका’मा नयाँ कागजपत्र बनाएर निकुञ्जको ५० रोपनी जग्गा हात पार्ने योजना बनेको हो । आक्रमण भएकै दिन अर्थात् १० मंसिर ०५८ को मिति राखेर निकुञ्जको नाममा रहेको कित्ता नं. २३५ लाई कित्ताकाट गरियो ।
कित्ता नं. ३८७ मा २४ रोपनी ११ आना १ पैसा र कित्ता नं. ३८९ मा २५ रोपनी ४ आना १ पैसा कायम गरेर व्यक्तिको नाममा सारियो । यी दुई कित्ता जग्गा क्रमशः ल्हाक्पा तेन्जी शेर्पा र आङमाया शेर्पाको नाममा सारिएको थियो । जग्गा यसरी पास गर्दा मालपोत अधिकृतका रूपमा हस्ताक्षर भने सम्बाहाम्फेको गरिएको थियो । दिउँसो जग्गा पास गरेको र बेलुका माओवादी आक्रमण भएको साबित गरेर मृतक मालपोत अधिकृतलाई पनि दोषी बनाइएको थियो ।
उता, विश्वसम्पदा सूचीमा रहेको निकुञ्जको जग्गा आफ्नो नाममा सार्ने ल्हाक्पा र आङमायालाई यति महत्वपूर्ण जग्गा आफ्नो नाममा आउँदै छ भन्ने थाहासमेत थिएन ।
करिब डेढ वर्षसम्म यो जग्गा उनीहरूकै नाममा रह्यो । १ जेठ ०६० मा दुवै कित्ताका जग्गा नामसारी गरियो । कित्ता ३८७ को २४ रोपनी ११ आना कोङ्दे भ्यु प्रालि र कित्ता ३८९ को २५ रोपनी ४ आना ल्हाक्पा सोनाम शेर्पाको नाममा सारियो । यती एयरका तत्कालीन प्रमुख आङछिरिङ शेर्पा नै कोङ्दे भ्यु प्रालिका सञ्चालक हुन् । त्यस्तै, ल्हाक्पा सोनाम उनका दाजु हुन् । सर्वोच्च शिखरको काखमा भएको निकुञ्जको जग्गा आफ्नो नाममा सार्ने शक्तिशाली व्यक्ति यी दुई भाइ नै हुन् ।
यो समाचार आजको नयाँ पत्रिका दैनिकमा सुवास भट्टले लेखेका छन।
सगरमाथा निकुञ्ज