मलेसियाबाट ३१ हजार कामदारको माग
काठमाडौँ । मलेसियामा दुई महिनामै ३१ हजारभन्दा बढी नेपाली कामदारको माग भएको छ । झन्डै सात महिना रोकिएको श्रमिक पठाउने प्रक्रिया खुलेपछि मलेसियाबाट छोटो समयमै नेपाली कामदारको ठूलो संख्यामा माग भएको हो ।
मलेसियास्थित नेपाली दूतावासले दुई महिनामा ३१ हजारभन्दा बढी कामदारको माग प्रमाणीकरण गरेको जनाएको छ । दूतावासले मंगलबार विज्ञप्ति जारी गरी असोज तेस्रो सातादेखि मंसिर १४ सम्मको अवधिमा ३१ हजार २ सय १ श्रमिक माग भएकामा ९ सय ६३ मागपत्र प्रमाणीकरण गरी वैदेशिक रोजगार विभागमा सिफारिस गरिएको जनाएको छ ।
मलेसियाबाट औद्योगिक क्षेत्रमा १७ हजार १ सय १६, सेवा क्षेत्र (सुरक्षा गार्डसहित) मा १० हजार १ सय ८३, कृषि क्षेत्रमा एक हजार ४ सय ७५, ‘प्लान्टेसन’ मा एक हजार ३ सय ९७ र निर्माण क्षेत्रमा एक हजार ३० श्रमिकको माग भएको विज्ञप्तिमा उल्लेख छ । ती मागपत्र प्रमाणीकरण गरी विभागमा पठाइएको दूतावासले जनाएको छ । मागपत्र प्रमाणीकरणलाई सरल, पारदर्शी र चुस्त बनाइएको समेत दूतावासले विज्ञप्तिमा छ ।
यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।