उपत्यकाका सार्वजनिक जग्गा हडप्नेहरू कारबाहीमा पर्ने, सरकारी जग्गा नछोडे डोजर चलाइने
काठमाडौँ। सरकारले काठमाडौं उपत्यकामा वर्षौं अघिदेखि अतिक्रमणमा परेका सरकारी तथा सार्वजनिक जग्गामाथिको अतिक्रमण हटाउने भएको छ । विभिन्न बहानामा सरकारी जग्गा हडप्नेहरू माथि समेत कारबाही गर्ने तयारी गरिएको छ ।
काठमाडौं उपत्यकाभर सयौं रोपनी सरकारी जग्गा बर्षौं अघिदेखि अतिक्रमणको चपेटामा पर्दै आइरहेका छन् । केही भू–माफियाले सरकारी जग्गा गरी प्लटिङ गरेर बिक्री वितरणसमेत गरिसकेको बताइएको छ । त्यस्ता जग्गाको समेत खोजी गरी फिर्ता गर्ने तयारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले कार्ययोजना नै बनाएर अतिक्रमण हटाउने तयारी थालेको हो । गृह मन्त्रालयको निर्देशनमा उपत्यकाका सबै सरकारी जग्गाको अतिक्रमण हटाउने गरी आवश्यक गृहकार्य अघि बढाइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।
‘अतिक्रमण गरेकाहरूलाई केही समय आफैं अतिक्रमित जग्गा छोड्न समय दिन्छौं, नछोडेमा डोजर लगाएर हटाउँछौं’, प्रमुख जिल्ला अधिकारी दाहालले भने । उनले सरकारी जग्गामाथि भएको अतिक्रमण हटाउने कार्यको थालनी कीर्तिपुरबाट गरिने तयारी गरिएको जानकारी दिए ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।