बलात्कारका नाममा बढ्यो बार्गेनिङ

बलात्कारका नाममा बढ्यो बार्गेनिङ

कानुन नागरिक समाजलाई सुरक्षित, अनुशासित र मर्यादित बनाउनका लागि आउने हो । तर, गत वर्ष जारी अपराध संहिताको दफा २१९ ले रिस उठेको मान्छेलाई सताउने मेलो खोलेको छ । मन मिलुन्जेल प्रेम मन भाँचिएपछि ‘जबर्जस्ती करणी’ को चलन यति बढ्यो कि देशभरका प्रहरी हिरासतदेखि कारागार यस्तै कसुरदारले भरिभराउ छन् । 

सभामुख कृष्णबहादुर महरादेखि चतराधामका ‘सिद्धबाबा’ भनिने कृष्णदासजी महाराजसम्म अहिले कानुनी दायरामा छन् । उनीहरुको कसुर वास्तविक हो या बनावटी भन्ने कुरा त सम्मानित अदालतको अन्तिम फैसलाबाटै आउला । तर, ‘बाख्रीको पुच्छर काटे, बोकालाई सजिलो’ भने जस्तो आरोप लगाइदिएपछि मुद्दा चल्न अर्थोक नचाहिने स्थितिले यही नाममा मोलमोलाइको धन्दा बढेको छ । यस्तो मुद्दाले गर्दा महरालाई राखिएको डिल्लीबजार कारागारमा पनि कैदीको चाप थेग्न नसक्ने गरी बढेको छ ।

त्यहाँ प्रहरीका पूर्वआईजीपी रमेशचन्द ठकुरीदेखि प्रहरी हत्याको अभियोग लागेका सांसद रेशम चौधरीसम्मका कैदी छन् । मुलुकी अपराध संहिताको दफा २१९ लागेर पुगेका कैदीसंग कारागारभित्रै रकमको मोलतोल बढ्न थालेपछि त्यस्तालाई त्यहाँका जेलर अरुण पोखरेलले भेटघाटै बन्द गराइदिएका छन् । भक्तपुर जिल्ला अदालतले कारागार चलान गर्ने मध्ये ८० प्रतिशत यही कसुरसंग सम्बन्धित छन् । 

एउटा ताजा घटना हेरौं । बालाजु नेपालटारभित्रको भेटघाट चोकमा डेरा बस्ने र त्यहीँको मानसिंह स्कुलमा ९ कक्षामा पढ्ने १८ वर्षीया शर्मिला ओली (नाम परिवर्तन) एक वर्षदेखि नुवाकोट बेलकोटगढी– २ कुमारीगाउँका २५ वर्षीय विष्णु न्यौपानेसंगको नियमित सम्पर्कमा थिइन । विष्णु चाहिँ अस्पताललाई सर्जिकल सामान सप्लाई गर्ने कम्पनीमा काम गर्ने र त्यही कम्पनीको गाडी चलाउने गर्छन् । नेपालटारको ग्रामीण आदर्श क्याम्पसमा पढ्ने र र प्रहरी कार्यालय छेउछाउ लेखन्दासको काम गर्ने शर्मिलाकी दिदीसंग विष्णुका एकजना साथीको प्रेम सम्बन्ध थियो ।

शेषमतिमा रहेको क्याफेमा साथीसंग उनको प्रेमिका भेटन जाने क्रममा बहिनी पनि भेटिएकी थिइन । त्यसबेला शर्मिलासंग मोबाइल थिएन । त्यसैले कहिले दिदी त कहिले आमाको मोबाइलबाट फोन गर्थिन । यो कुरा थाहा पाएपछि दिदीले शर्मिलालाई गाली गरिन् । र करिब १० महिना उनले विष्णुलाई फोन गरिनन् । ०७५ कात्तिकमा आफ्नै फोन किनेर विष्णुलाई फोन गरिन । विष्णु विवाहित हुन् । बुटवलकी शोभा थापा (नाम परिवर्तन) संग विवाह भएको थियो । शोभा हाल जापानमा छिन् । शर्मिलाले आफ्नै मोबाइल लिएपछि विष्णुसंग नियमित गफगाफ हुन थाल्यो । विष्णुले आफ्नै कोठामा उनीसंग सहमतिमै सम्पर्क राखे । अन्तिम पटक असोज ३० गते सम्पर्क भएको थियो । त्यसपछि गर्भ रह्यो । र, उनीहरुले एक मेडिकल सेन्टरमा आफूहरु पतिपत्नी भएको र सहमतिमै गर्भपतन गराउन चाहेको कागजमा सही गरे । गर्भपतन भयो ।

भोलिपल्टदेखि शर्मिलाकी दिदीले विष्णुसंग कुरा गर्न थालिन । भनाइ थियो– ‘मेरी बहिनीलाई दुई जिउकी बनाएर किन गर्भपतन गराइस ?’ विष्णुको भनाइ थियो– ‘सहमतिमै भएको हो ।’ यसपछि माग भयो, ५० लाखको । अर्काको गाडी चलाएर गुजारा गर्ने विष्णुले त्यतिका पैसा दिनसक्ने अवस्था थिएन । गर्भपतनपछिका दिनमा शर्मिला विष्णुको सम्पर्कमा आइनन । जे जे कुराकानी गरिन, उनकै दिदीले गरिन । शर्मिलाकी दिदीको बार्गेनिङ २५ लाखसम्म पुगेको थियो । तर, विष्णुले जापानमा रहेकी पत्नीलाई ढाँटेर भएपनि १० लाखसम्म मगाउने बताए । शर्मिलाकी दिदीले मानिनन् । 

यसपछि शर्मिलाको जाहेरी लिएर दिदी आफैं बालाजु पुगिन । त्यहाँको प्रहरीले पीडित उपस्थित हुनुपर्ने भन्यो । तर, प्रहरीको भनाइ थियो, मुलुकी अपराध संहिताको दफा २१९ अनुसार शर्मिलाको जाहेरी दर्ता त हुन्छ । तर, उनीहरुले सात महिनाको बच्चाको गर्भपतन गराएका छन् । गर्भपतन गराउने क्रममा आफूहरु पति पत्नी भएको कागजमा सही छाप गरेका छन् । मुलुकी अपराध संहिताको दफा १८८ अनुसार गर्भपतन गराउन नहुने कसुरमा स्वयं शर्मिला पनि प्रतिवादी हुनेछिन । २५ हप्ता बढीको गर्भपतन भए  पाँच वर्ष कैद र ५० हजार जरिवानाको कानुनी व्यवस्था छ । प्रहरीले जाहेरी दर्ता गर्यो ।

तर, शर्मिलालाई प्रतिवादी बनाएर पक्राउ पूर्जीका लागि सरकारी वकिलकहाँ लेखि पठाउँदा सरकारी वकिल र उच्च पदस्थ हाकिमले पनि उनलाई प्रतिबादी नबनाउन दबाब दिए । यसपछि शर्मिला प्रतिवादी बनिनन् । विष्णु पक्राउ परे । केही दिनअघि पुर्पक्षका लागि कारागार चलान भएका छन् । तर, कालिमाटी र टेकु प्रहरी कार्यालयतिर लेखापढी व्यवसाय गर्ने शर्मिलाकी दिदी अहिले पनि मोलतोल मिलाउन कारागार जाने गरेकी छन् । यदि उनीहरुको आर्थिक कारोवार मिल्यो भने शर्मिलाले जाहेरी फिर्ता लिन्छिन, बयान फेर्छिन र विष्णु थुनामुक्त हुन्छन् । यदि त्यसो भएन भने उनीमाथि कानुनी कारवाही हुन्छ । 

जनआस्था साप्ताहिकबाट साभार । 

कानुन अपराध संहिता कृष्णबहादुर महरा

संम्बधित खबर

विशेष