News राजनीति

प्रधानमन्‍त्री ओली डिस्चार्ज : बालुवाटारमै चिकित्सकको निगरानीमा रहने

प्रधानमन्‍त्री ओली डिस्चार्ज : बालुवाटारमै चिकित्सकको निगरानीमा रहने

काठमाडौं – मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले डिस्चार्ज भएका छन् । उनी भर्खर बालुवाटारस्थित निवासतर्फ लागेका हुन् ।

यसअघि बिहीबार नै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमा पुगेकी थिइन् । प्रधानमन्त्री ओलीको अघिल्लो मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो ।

अस्पतालबाट बाहिरिँदै गर्दा प्रधानमन्त्री ओलीले आफू स्वस्थ भएर फर्किएको प्रतिक्रिया दिए । चिकित्सक डा. अरुण शायमीले प्रधानमन्त्रीको एपेन्डिक्सको उपचार सफल भएको बताए ।

मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि प्रधानमन्त्री ओलीको नियमित हेमोडायलासिसलाई प्राथमिकता दिइएको छ। उनको पाँचौ पटक डायलसिस मंसिर १२ गते भएको थियो। 

मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा। उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्रीलाई अझै आरामको आवश्यकता रहेको बताए। 

श्रेष्ठका अनुसार अस्पतालमा उनको उपचारमा संलग्न चिकित्सकले नै केही हप्ता प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे निगरानी गर्नेछन्। उपचार टोलीका संयोजक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. अरुण सायमीका अनुसार  प्रधानमन्त्री ओली बालुवाटारमै चिकित्सकको प्रत्यक्ष निगरानीमा रहनेछन्। 

प्रधानमन्त्री ओलीको कात्तिक १३ गते पहिलो पटक डायलायसिस गरिएको हो। दुवै मिर्गौला फेल हुँदा सातामा दुई वा तीन पटक डायलासिस गर्नुपर्ने हुन्छ। तर, प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा पूर्ण ह्रास नआइसकेका कारण असहज महसुस भए मात्र डायलासिस गरिँदै आएको छ। गत कात्तिक १३ र १४ गते उनको चौबिस घण्टामा दुईपटक डायलासिस भएको थियो।

०६४ सालमा ओलीको भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपणपछि उनले औषधि सेवन गर्दै आएका छन्। 

गत १८ साउन र ५ भदौमा सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गरिएको थियो। प्लाज्माफेरेसिस पद्धतिबाट शरीरमा बढेको एन्टिबडी नष्ट गरिएको थियो।

१२ वर्षअघि मिर्गौला फेल भएपछि प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको अन्य स्वास्थ्य अवस्था राम्रो रहेको उनका सहयोगी चिकित्सकको भनाइ छ। नियमित डायलासिस गर्ने वा मिर्गौला प्रत्यारोपण गर्ने भन्ने विषयमा चिकित्सक निर्णयमा पुग्न सकेका छैनन्। 

प्रत्यारोपण गरिएको मिर्गौलाले पिसाबबाट फोहोर निष्कासन गर्न नसकेपछि मेसिनको सहयोग लिएर गरिने फोहोर निष्कासन गर्ने पद्धति नै डायलासिस हो। मेसिनको सहायताले रगतमा भएको फोहोर तत्व र आवश्यकभन्दा बढी रहेको नुनपानी फालेर रक्तचापलाई नियन्त्रणमा राख्न डायलासिस हुन्छ।  

विशेष