बजारमा फेला परेको घाइते मृगको उद्धार

खोटाङः दिक्तेल बजारमा फेला परेको घाइते मृगको उद्धार गरिएको छ । कुकुरले खेद्ने क्रममा दिक्तेल बजारभित्र छिरेर अत्तालिँदै कुदिरहेको अवस्थामा मंगलबार दारे (भाले) मृगलाई प्रहरीले उद्धार गरेको हो ।
विभिन्न ठाउँमा चोट लागेको अवस्थामा फेला परेको मृगलाई जिल्ला डिभिजन वन कार्यालयको निर्देशनमा वनमा लगेर छाडिएको सामुदायिक सेवा केन्द्रका असई गोपी कट्वालले बताए। मृगको नाक, फिला, बायाँ आँखामुनि लगायत ठाउँमा चोट लागेको थियो। मान्छे देख्दा अत्तालिँदै जथाभावी कुद्दा चोट लागेको अनुमान गरिएको छ।
वन्यजन्तुलाई सुरक्षित राख्ने स्थान अभावले मृगलाई तत्कालै सामुदायिक सेवा केन्द्रका प्रहरी र डिभिजन वन कार्यालयका कर्मचारीले सामुदायिक जंगलमै लगेर छाडेका हुन् ।
उद्धार मृग दिक्तेल बजार